कोरियामा कृषि कामदारको सास्ती

एजेन्सी, भदौ २९ ।
लमजुङका रमेश न्यौपाने विहान छ बजेसम्म उठिसक्छन् । निन्द्रामै खाना खाईवरी आधाघण्टा भित्रै काममा पुगिसक्छन् । उनी जागिरमा विहान साढे छ बजे पुग्नुपर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन् ।
उनी खेन्गिदोस्थित प्लाष्टिकको घरभित्र लगाइएको तरकारीको एक परिकार (सान्छु) कम्पनीमा काम गर्छन् । उनी भन्छन्–नेपालमा भनेजति कोरियामा काम गर्न सजिलो छैन, भोग्नेलाई मात्रै यहाँको गाह्रो थाहा छ ।” विश्वका १६ देशबाट आप्रावासी अदक्ष कामदार भित्र्याएर कोरियाले काममा लगाउँछ । सबै देशबाट आएकाहरूको दिनचर्या रमेश भन्दा फरक छैन ।
ईपीएसमार्फत् ‘कृषि भिषा’मा करिब आठ महिना अगाडि कोरिया आएका न्यौपाने महिनाका दुई शनिबारवाहेक अन्य दिन घाम–पानी, धुवा–धुलो, चिसो थकाइ र दुख्यो केही भन्न पाउँदैनन् । उनी मासिक नेपाली रूपैयाँ करिब एक लाख २० हजार कमाउँछन् ।
“कृषि भिषामा कोरिया आएकालाई काम गर्न साह्रै गाह्रो छ । विहान उठेदेखि बेलुकी नसुतुन्जेल गोरुले जोतिएझै जोतिनुपर्छ, न खाना न त बस्नकै राम्रो ब्यवस्था, त्यसैमाथि साहुको व्यवहारले दिक्क बनाउँछ,” अनुहार मलिन बनाउँदै काभ्रेका विनोद ढकालले भने, “नआउनु थियो, आइहालियो अब केही वर्ष दुःख गर्छु, नेपाल फर्कन्छु र तरकारी व्यवसाय नै गर्छु ।”
फिनेल हाउसमा गाह्रो भएर काम परिवर्तन गर्न साहुसँग अनुमतिपत्र माग्दा नपाएपछि झापाका किरण शर्माले साहुलाई एक महिनाको कमाइ बुझाए । अनि मात्र काम सर्ने अनुमति पत्र पाए । अहिले उनी कुखुरा फार्ममा लागेका छन् ।
विहान उठेदेखि बेलुकी नसुतेसम्म हजारौं कुखुराको रेखदेख गर्नु, दानापानी दिनु र अण्डा उठाउनु उनको दैनिकी हो । “नेपालमा जे सोचियो, त्यसको ठिक विपरित भोगियो, कृषि भिसावालालाई कोरियाले ठगेको छ,” उनी भन्छन् ।
कोरियाको औद्योगिक क्षेत्रको रूपमा चिनिने थेगुस्थित सुँगुर फार्ममा कार्यरत पर्वतका कृष्ण नेपाली (२४‚ बस्तीभन्दा केही टाढा जंगलनजिकै फार्ममा काम गर्छन् । “सहर त धेरै टाढा छ, यो ठाउँमा आउँनका लागि ठूलो संघर्ष गरियो । केके न पाइएला जस्तो लाग्थ्यो । तर अहिले व्यर्थ लाग्दैछ,” भाइबरबाट उनले भने ।
यीनीहरूजस्तै कोरियामा रहेका नेपालीले शारिरिक, तथा मानासिक यातना पाउछन । समयमा तलब पाउँदैनन् । रोग लागेमा उपचार गर्ने विदा र आराम गर्ने समय पाउदैनन् । साथै खाना बनाउने र खाने समयको पनि ठेगान हुँदैन ।
कोरियामा कृषि, पशुपालन तथा माछापालन क्षेत्रभित्र पर्ने कामका प्रकारहरू तरकारीमा च्याउ, भटमासको जरा, बुछु साग, मिनारीसाग, साँछु साग, लसुन प्याज र फलफूल हुन् भने पशुपालनमा कुखुरा, बंगुर, गाई, कुकुर, मुसा, घोडापालनलगायत हुन् ।