कोमल वली एमाले प्रवेश गर्दै

काठमाण्डौं, असोज ७ ।
गायिका कोमल वली नेकपा एमालेमा प्रवेश गर्ने लगभग पक्का भएको छ । केही समयदेखि एमाले नेताहरुसँग छलफल चलाएकी उनी अहिले आफन्त र शुभचिन्तकसँग सल्लाहमा व्यस्त छिन् ।
वली निकटस्थ स्रोतका अनुसार पार्टी प्रवेशपछि पाउने जिम्मेवारीका विषयमा उनले एमाले शीर्ष नेतासँग छलफल गरिसकेकी छिन् । एमाले नेताहरुले पनि उनी पार्टी प्रवेश गर्दा दिने जिम्मेवारीका विषयमा छलफल चलाइसकेको बुझिएको छ ।
उनी केही समयअघि रेडियो नेपालको स्थायी जागिर छाडेर राप्रपा नेपाल मार्फत राजनीतिमा होमिएकी थिइन् । उनी राप्रपामा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा विजय भएकी थिइन् । आफ्नौ गृहजिल्ला दाङबाट प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा पनि थिइन् उनी । राप्रपा विभाजनपछि पार्टीप्रति वितृष्णा जागेको वलीको भनाई छ ।
अहिले एमालेको स्थायी कमिटीको बैठक चलिरहेको छ । बैठकको अन्तिम दिनसम्मका अन्य पार्टीका केही नेतालाई एमाले प्रवेश गराउने कार्यक्रम राखिएको छ । सोही कार्यक्रममार्फत वली पनि एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोतले बतायो ।
वलीलाई एमाले प्रवेश गराउने कार्यमा एमाले नेता शंकर पोखरेल बढी सक्रिय छन् । अघिल्लो संविधानसभाको निर्वाचनमा पराजय बेहोरेका उनी पछिल्लो समय दाङमा प्रभाव बढाउन लागिपरेका छन् । स्थानीय तहको निर्वाचनमा भने दाङमा एमालेले वर्चस्व बढाएको छ ।