कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार

काठमाण्डौं, माभ ९ ।
नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएर पनि उम्मेदवार छनोटमा नपरेकी गायिका कोमल वलीलाई पार्टीले अन्ततः राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले उनलाई प्रदेश नं ५ बाट राष्ट्रियसभाका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । चुनावको केही समयअघि उनी राप्रपा नेपालबाट एमाले प्रवेश गरेकी थिइन् । लोकप्रिय मतसहित राप्रपाको केन्द्रीय सदस्य बनेकी उनी सांसद बन्ने ठूलो अपेक्षासहित एमालेमा आइन् । तर दाङबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएकी उनलाई उम्मेदवार बनाइन ।
त्यसपछि एमालेविरुद्ध नै बागी उम्मेदवारी दर्ता गराएकी उनले पछि उम्मेदवारी फिर्ता लिइन् । उपयुक्त अवसर दिने वाम गठबन्धनका नेताहरुको आश्वासनपछि उम्मेदवारी फिर्ता लिएको उनको भनाइ थियो । उनले त्यसबेला भनेकी थिइन्, ’मैले आस्था राखेको पार्टी नेकपा एमाले र समग्रमा वाम गठबन्धनको जित मेरो लागि सर्वोपरि हो भन्ने मैले ठानेकी छु ।’