के कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड ?

काठमाण्डौं, मंसिर २४ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जेठ २०७५ को तेस्रो साता कास्कीको घान्द्रुकमा थिए । पार्टी एकता भएको दुई हप्ता पुग्दानपुग्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रमका लागि त्यहाँ पुगेका थिए उनी ।

पार्टी एकता भएको दुई हप्ता बित्दा नबित्दै कास्कीको पर्यटकीय गाउँ पुगेका नेकपा अध्यक्ष प्रचण्ड पार्टी एकता हुनुभन्दा दुई हप्ताअघि पनि कास्की पुगेका थिए, आफ्नो जन्मगाउँ ढिकुरपोखरी-२२ बैशाख ०७५ मा ।

तिनै प्रचण्ड ६ महिना पुग्दा नपुग्दै फेरि सोमबार कास्कीको सिक्लेस पुगे । सिक्लेस त्यही ठाउँ हो, जहाँबाट उनी २ असार ०६३ मा तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला सवार हेलिकोप्टरमा चढेर उनी काठमाडौँ आइपुगेका थिए ।

र, सिक्लेसबाट सुटुक्क काठमाडौँ आएका उनी त्यही दिन तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायत संसदवादी सात राजनीतिक दलहरुसँगको वार्तापछि प्रधानमन्त्री निवास बालुवाटारबाट सार्वजनिक भएका थिए ।

२०७५ सुरु भएको ९ महिनापनि पुगेको छैन । तर, यसबीचमा प्रचण्ड आफ्नो जन्मस्थान कास्कीको कुना-कन्दरामा तीन पटक पुगिसकेका छन् । प्रतिनिधि सभामा निर्वा्चित चितवनजत्तिकै प्रचण्ड आजकल बरोबर पुगिरहने जिल्ला बनेको छ, कास्की । र, प्रचण्ड पटक–पटक कास्की जान थालेपछि आशंका गर्न थालिएको छ, कतै उनी कास्कीलाई आफ्नो नयाँ निर्वाचन क्षेत्र त बनाउँदै छैनन् ?

क्षेत्र परिवर्तनमा माहिर

भनिन्छ, ‘राष्ट्रिय स्तरका नेताका लागि एउटा निश्चित निर्वाचन क्षेत्र हुँदैन । उनीहरु जहिलेपनि जहाँबाट उठ्न सक्छन् ।’ हुनुपर्ने यही हो । तर, अक्सर शीर्ष नेपाली राजनीतिक नेताहरुको हकमा यो कुरा लागू हुने गरेको छैन ।

यसका विपरित शीर्ष नेताहरुले बर्षाैँसम्म एक वा दुई जिल्लालाई आफ्नो निर्वाचन क्षेत्र बनाउँदै आएका छन् । जस्तो, केपी ओली झापाबाट, स्व. गिरिजाप्रसाद कोइराला मोरङ-सुनसरीबाट, स्व. सूर्यबहादुर थापा धनकुटाबाट, माधव नेपाल काठमाडौँ वा रौतहटबाट आदि ।

शीर्ष नेताहरुले एउटै जिल्लालाई निर्वाचन क्षेत्र बनाउँदाको फाइदा र बेफाइदा दुबै छन् । फाइदा भनेको उनीहरु आफ्नो निर्वाचन क्षेत्रमुखी हुँदा त्यो जिल्ला र निर्वाचन क्षेत्रको विकास हुन्छ । धनकुटा, मोरङ, झापा जस्ता जिल्लामा बढी विनियोजित हुनुको कारण यही हो ।

यसको बेफाइदा पनि उत्तिकै छ । राष्ट्रिय स्तरका नेताहरु आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमुखी भइदिँदा विकासको असन्तुलन बढ्दै जान्छ । नेताका जिल्लाहरुमा बजेट बढी बिनियोजित हुन्छ । राष्ट्रिय नेता नभएको जिल्लाले चाहिँ आवस्यक कुरामा पनि बजेट पाउँदैन ।

निर्वाचन क्षेत्र छनोटकासन्दर्भमा चाहिँ प्रचण्डको चरित्र राष्ट्रिय खालको छ । उनले २०६४ को पहिलो संविधान सभा निर्वाचन भए यताका तीन वटै निर्वाचनमा प्रचण्डले भाग लिएका छन् । तीन वटै निर्वाचनमा उनले फरक फरक निर्वाचन क्षेत्र रोजेका छन् ।

जस्तोस् ०६४ को पहिलो निर्वाचनमा उनी रोल्पा-२ र काठमाडौँ-१० बाट प्रतिस्पर्धा गरेका थिए । दुबैमा उनी विजयी भए । ०७० को निर्वाचनमा उनले रोल्पा छोडे, त्यसको साटो सिरहा रोजे । काठमाडौँ-१० पनि कायम राखे । सिरहा-५ बाट निर्वाचित भए ।

पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँका अलावा रोल्पा र सिरहा रोजेका प्रचण्डले ०७४ को प्रतिनिधि सभाको निर्वाचनमा चाहिँ आफ्नो गृहजिल्ला चितवन-३ रोजे, जबकि केपी शर्मा ओली लगायत तत्कालिन एमालेका नेताहरुले सो क्षेत्र उनका लागि ‘खतराजनक’ हुनसक्ने सुझाएका थिए ।

निर्वाचन परिणामले पनि सो क्षेत्र उनका लागि त्यति सुविधाजनक रहेनछ भन्ने देखायो । केपी शर्मा ओली, माधव नेपाल जस्ता नेताहरु गएर प्रचार गरिँदिँदा, प्रचण्ड आफै अरु जिल्लामा नगई चितवनमा मात्र केन्द्रित हुँदापनि राप्रपाका बिक्रम पाण्डेलाई उनले सिर्फ ८ हजार मतले मात्र पराजित गर्न सके ।

चितवन-३ बाट विजय हासिल गर्नु सहज छैन भन्ने प्रचण्डलाई पनि थाहा नभएको कुरा थिएन । त्यसैले, चुनाव अवधिभर उनी चितवनमा केन्द्रित भए । आफ्नो स्वभाव अनुसार नै उनले ०७४ को निर्वाचनमा पहिले प्रतिस्पर्धा गरेका काठमाडौँ, रोल्पा, सिरहा छाडेर चितवन रोजेका थिए ।

कास्कीको सम्भावना कति ?

गृहजिल्ला चितवन भएपनि प्रचण्डको जन्मस्थान चाहिँ कास्की हो । हाल अन्नपूर्ण गाउँपालिकामा पर्ने ढिकुरपोखरी, लेवाडेमा उनी ११ मंसीर २०११ मा जन्मेका थिए । तर, ८ बर्षको उमेरमा उनको परिवार चितवनको शिवनगर र्झयो । उनी उतै हुर्किए । जन्मस्थान कास्की भएपनि यो जिल्ला राजनीतिक रुपमा उनको कर्मथलो कहिल्यै भएन ।

तर, दोस्रो संविधान सभा निर्वाचनपछि चाहिँ उनले विस्तारै कास्कीलाई पनि ध्यान दिन थाले । कास्कीले पनि उनलाई ध्यान दिन थाल्यो । बाल्यकालमै चितवन बसाईं सरेपनि नातेदारहरु कास्कीमा थुप्रै रहेकाले उनलाई कास्कीबाट चुनाव लड्न उनले सुझाव पाउन थाले ।

खासमा ०७४ को प्रतिनिधि सभा निर्वाचन कास्कीबाटै लड्न उनलाई नेकपाका नेताहरुले सुझाएका थिए । यसैगरी कास्की उद्योग वाणिज्य संघका केही अगुवाहरुले पनि कास्कीको विकासका लागि उनको उम्मेदवारी आवस्यक रहेको सुझाव दिएका थिए ।

तर, प्रचण्ड कास्कीका लागि तयार भएनन् । उनले चितवन नै रोजे । निकै कठिन प्रतिस्पर्धामा चितवन(३ बाट जित निकालेका प्रचण्ड यतिबेला चितवनमै केन्द्रित देखिन्छन्, प्रत्येक महिना ३(४ पटक चितवन पुगेकै हुन्छन् । सम्भवतस् आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी जानेमा नेता हुन् प्रचण्ड ।

यति हुँदाहुँदै पनि उनले कास्कीलाई पनि उत्तिकै ध्यान दिन थालेको देखिन्छ । जस्तो, २० फागुन (०७४) मा कास्कीको अन्नपूर्ण–काठमाडौँ सम्पर्क समाजले आयोजना गरेको कार्यक्रममा उनी सरिक भए । सो समाजले प्रचण्डको जन्मथलो ढिकुरपोखरीलाई पनि समेट्छ ।

समाजले उनलाई संरक्षकको जिम्मेवारीमा रहिदिन आग्रह गरेको थियो, प्रचण्डले सहर्ष त्यसलाई स्वीकार गरे । त्यतिमात्र होइन, आफ्ना केही साथी र व्यवसायीले जन्मस्थानमा घर बनाएर बस्न सुझाव दिएको खुलाशा गर्दै बताए, ‘त्यहाँ गएर बस्ने घर बनाइयो भने तपाईंहरूसँग अन्तर्क्िरया र गाउँको विकास-निर्माणमा सहभागी हुन सजिलो हुने ठानेको छु ।’

नभन्दै प्रचण्ड २२ बैशाखमा आफ्नो जन्मस्थान ढिकुरपोखरी पुगे । चितवन बसाईं सर्दा आफ्ना पिताले बेचेको घर जग्गा हेरे र अहिले पर्ने त्यसको मूल्यबारे बुझबुझारथ गरे । सस्तोमा पाए आफ्नो पुख्र्यौली जग्गा रहेकै स्थानमा घर बनाउने योजनाका साथ उनी ढिकुरपोखरी पुगेका थिए ।

नेकपा कास्कीका नेता राजकाजी गुरुङका भनाईमा, त्यहाँ (कास्की) बाट चुनाव लड्ने विषयमा यसअघि कुराकानी हुँदा प्रचण्डले अस्वीकार गरेपनि यदि उनले चाहे भने कास्कीका हरेक नेता प्रचण्डको स्वागत र निकै ठूलो बहुमतका साथ जिताएर पठाउन तयार छन् ।

प्रचण्ड आफैले भने कास्कीबाट चुनाव लड्ने विषयमा अहिलेसम्म कुनै योजना बनाएका छैनन् । पारिवारिक स्रोतका भनाईमा, उनी अहिलेसम्म चितवनबाटै चुनाव लड्ने कुरामा प्रतिबद्ध छन् । र, कास्कीमा चुनाव लड्ने हल्ला चल्दा चितवनको जनमत बिग्रने कुराप्रति पनि उत्तिकै सचेत छन् ।

तर, जानकारहरु के बताउँछन् भने, यदि आगामी चुनावमा चितवनप्रति उनी विश्वस्त हुन सकेनन्, कास्कीका नेता कार्यकर्ताले जोड गरिरहे भने चाहिँ उनले कास्की रोज्न सक्ने सम्भावना रहन्छ । एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।–नेपालखवर