केन्याले नेपाललाई दियो १७८ रनको लक्ष्य

काठमाण्डौं, माघ २९ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याले नेपाललाई १ सय ७८ रनको लक्ष्य दिएको छ । सोमबार नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन जोड्यो । केन्याका लागि ओपनरद्वय इर्फान करिमले ४२ तथा एलेक्स ओबाडाले ४१ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १–१ विकेट हात पारे ।
सन्दीपले ३४ ओभरमा लगातार २ विकेट लिए । उनले पहिलो बलमा केन्याका कप्तान राखेप पटेललाई १ रनमा आउट गरे । दोस्रो बलमा सन्दीपले रुसव पटेललाई शून्य रनमा एलबिडब्लूको धरापमा पारे । तेस्रो बलमा केन्याका नेल्सन ओडिम्बोले डट बल खेलेपछि सन्दीप ह्याट्रिक गर्न चुके । आफ्नो स्पेलको अन्तिम बलमा सन्दीपले पाँचौं विकेट हात पारे । उनले ओडियाम्बोलाई ७ रनमा विकेटकिपर ज्ञानेन्द्र मल्लबाट स्टम्पिङ गराए । बसन्तले केन्याका ओपनर इर्फान करिमलाई विकेटकिपर ज्ञानेन्द्रबाट क्याच गराए। करिमले सय बल खेलेर ४२ रन जोडे। उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । सोमपाल कामीले कोलिन ओवुयालाई १० रनमा बोल्ड गरे । शरदले गुरदिप सिंहलाई २ रनमा बोल्ड गरे ।
यसअघिका नेपालले नामिबिया र युएईलाई हराउँदा ओमानसँग हार बेहोरेको थियो । केन्याले सुरुवाती दुवै खेल गुमाएको थियो । डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन् । एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ ।