केन्द्र र नाम फेर्न खोज्दा गाउँपालिकामा विवाद, कार्यालय बन्द

राजविराज, माघ २५ ।
स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय विरुद्ध सप्तरीको तिलाठी–कोइलाडी र बेल्ही–चपेना गाउँपालिकामा विवाद चर्किएको छ । एक हप्ताअघि गाउँसभाले नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो । दुवै स्थानीय तहको कार्यालयमा तालाबन्दी गरिएको छ । नाम र केन्द्र परिवर्तन गर्नेरनगर्ने दुवै पक्ष आन्दोलनमा उत्रेका छन् । तिलाठी–कोइलाडी गाउँसभाले नाम परिवर्तन गरी ‘खाँडो–जिता’ बनाउने र वडा नम्बर १ मा रहेको केन्द्र वडा नम्बर ४, कोइलाडीस्थित जिरिया हाटमा सार्ने निर्णय गरेको छ । निर्णय लगत्तै असन्तुष्ट वडा नम्बर १ का बासिन्दाले स्थानीय तहको कार्यालयमा गत आइतबार तालाबन्दी गरेका छन् भने मंगलबारदेखि अनिश्चितकालीन धर्ना जारी राखेका छन् ।
गाउँ परिषद्का निर्णयहरु खारेज, चालु आर्थिक वर्ष २०७४÷०७५ को आयव्यय सार्वजनिक, गाउँपालिकाका प्रशासकीय अधिकृत सरोजकुमार झा उपर छानबिन र कारबाहीका लागि उनीहरुले माग गरेका छन् । उपाध्यक्ष सुचिता यादव आन्दोलनको पक्षमा देखिएकी छिन् । उनले अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले सुरुदेखि नै एकलौटीपूर्ण र हेपाहा प्रवृत्ति सुरु गरेको बताइन् । निर्णयको प्रतिलिपि तथा बैंक स्टेटमेन्ट माग्दा पनि नदिएको उनको आरोप छ । बहुमतको दम्भमा भएका निर्णय फिर्ता हुनुपर्ने उनले माग गरेकी छिन् ।
गाउँपालिकाका अध्यक्ष सतिश सिंहले गाउँसभाको निर्णयले नै नाम र केन्द्र परिवर्तन गरेको जानकारी दिँदै ८ वटा वडामध्ये ७ वटा वडाको पक्षमा भएको उक्त निर्णय कुनै पनि हिसाबले गलत नभएको दाबी गरेका छन् । अधिकांश गाउँवासीको सुविधालाई ध्यानमा राखी प्रक्रिया अनुसार नै नाम र केन्द्र परिवर्तनको निर्णय गरिएको उनले बताए । आन्दोलनरत पक्षले भने गाउँसभा नै अवैधानिक भएको आरोप लगाएका छन् । लुकिछिपी सदरमुकाममा गरेको गाउँसभाको निर्णय सम्पूर्ण गाउँपालिकावासीलाई मान्य नहुने आन्दोलनकारीमध्येका देवनारायण यादवले बताए । यादव सीमारक्षाका लागि भारतीय नागरिकसँग लडाइँ गरेर चर्चा कमाएका व्यक्ति हुन् ।