कुन प्रदेशको राजधानी कहाँ ?

पोखरा, असोज २ ।
देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ ।
त्यसका लागि मंसिर १० र २१ गते दुई चरणमा दुवै तहको चुनाव हुँदैछ । सरकारले दसैँअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को राजनीतिक समितिले अझै छलफलसमेत थालेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण र त्यसपछि प्रदेश नम्बर २ को निर्वाचनमा व्यस्त हुँदा अहिलेसम्म राजनीतिक समितिको बैठकसमेत बस्न नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने प्रदेशको अस्थायी राजधानी तोक्न आन्तरिक गृहकार्य भइरहेको बताए । दलहरूसँग छलफल गरेर दसैँपछि मन्त्रिपरिषद्को राजनीतिक समितिले निर्णय लिने उनले बताए । ‘विभिन्न उपसमिति बनाएर प्रदेश संरचना, प्रदेशका लागि आवश्यक कानुनको मस्यौदा र पूर्वाधार अध्ययनको काम भइरहेको छ । दसैँलगत्तै सबै विषय टुंगो लाग्छ,’ उनले भने ।
सातै प्रदेशका अनौपचारिक प्रश्तावित राजधानी
प्रदेश नं.१- झापा, धनकुटा, मोरङ,
प्रदेश नं. २-जनकपुर, वीरगन्ज, राजविराज
प्रदेश नं. ३ – काठमाडौं, हेटौँडा, धुलिखेल, चितवन
प्रदेश नं. ४ – पोखरा निर्विकल्प
प्रदेश नं. ५ -बुटवल, दाङ, बाँके, कपिलवस्तुको तिलौराकोट क्षेत्र
प्रदेश नं. ६ -सुर्खेत र जुम्ला
प्रदेश नं. ७ -डोटी, कैलाली, कञ्चनपुर र डडेल्धुराको स्याउली बजार क्षेत्र