कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु

रुकुम, बैशाख २९ ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ६ भण्डारी काँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको हो ।
दुर्घटनामा परी चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङका तिलक खड्का घाइते भएका छन् । गाडी सडकबाट करीब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।