किसानका छोरा सांसद, एसएलसीसम्म चप्पल पनि पाएनन् बरालले (कहालीलाग्दो राजनीति)

प्रकाश ढकाल
पोखरा, मंसिर २५ ।
कमजोर आर्थिक अवस्था । खानेलाउने चिन्ताले परिवारलाई सताउँथ्यो । भोकै स्कुल पुग्थे कहिले त रामजी । उनलाई चिनेकाहरु उनका दुख केलाउन पनि मान्दैनन् । त्यति दयनिय जीवन बिताए उनले । १० कक्षासम्म पढ्दा खाली खुट्टा हिडेका रामजी जनताका खुट्टामा जुत्ताचप्पल दिलाउन राजनीतिमा लागे । कास्कीको साविक पुम्दीभुम्दी गाविसस्थित डाँडाथोकमा २०२३ सालमा जन्मिएका रामजीप्रसाद बराल निम्नवर्गीय किसान परिवारका छोरा हुन् । गाउँकै महेश्वरी प्राविबाट प्रारम्भिक शिक्षा थालेका उनले कष्टपूर्ण रुपमा अध्ययन गरे । १० कक्षामा पढ्दाताका नै उनी कम्युनिष्टको समानताको सिद्धान्तले राजनीतिमा आकर्षित भएका हुन् ।
२०४२ मा तत्कालिन मोटो मशालको विद्यार्थी संगठनमा समाहित भएर शुक्रराज उच्च माविको इकाइ कमिटि अध्यक्ष भएका उनी २०४३ सालमा एसएलसी दिएपछि कम्युनिष्ट राजनीतिमा झनै सक्रिय भए । २०४६ सालको जनआन्दोलनमा पनि उनले पञ्चायत विरुद्ध सडकमा आन्दोलन गरे । बरालले २०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०४८ मा संयुक्त जनमोर्चा नेपालको गाउँ इकाइ अध्यक्ष र २०४९ मा पार्टीको जिल्ला सदस्य बनेका उनी २०५१ मा पार्टीको राष्ट्रिय भेलाका लागि प्रतिनिधी छनौट भए ।
२०५३ सालतिर पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका उनी उतिबेलै नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य भए । कास्कीको माओवादी आन्दोलनलाई उचाईमा पु¥याउन बरालको योगदान अविष्मरणीय छ । २०५७ सालमा पार्टीले उनलाई पर्वत जिल्लाको सेक्रेटरीको जिम्मेवारी दियो । २०५९ मा उनी फेरी इन्चार्ज÷सेक्रेटरीको जिम्मेवारी दिएर कास्की फर्किए । जनयुद्घमा निरन्तर सहभागी भएका उनी कमिसार रहेर धेरै फौजी आक्रमणमा पनि सहभागी भए । तिनै बराल तीन दशकपछि अहिले कास्की ३ प्रदेशसभा (क) बाट प्रदेशका लागि सांसद बने ।