किन कारबाही सिफारिसमा परे पर्यटनमन्त्री अधिकारी ?

काठमाण्डौं, पुस १८ ।
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । उनी मात्र होइन, पूर्व पर्यटनमन्त्रीद्वय जितेन्द्र नारायण देव र जीवनबहादुर शाही पनि कारबाही सिफारिसमा परेका छन् ।

पर्यटनमन्त्री अधिकारीले सुरुदेखि नै विमान खरिदमा आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए । आफ्नो गल्ती देखिए राजनीतिबाटै सन्यास दिने उनको दाबी थियो ।

तर, उपसमितिले मन्त्री अधिकारीलाई दोषी ठहर गरेको छ । महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको प्रष्ट उल्लेख हुँदाहुँदै मन्त्री अधिकारीले छानविन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

साथै आफ्नो कार्यकालमा भुक्तानी नदिएको र अध्ययन गर्छु भनेर औपचारिकतामा मात्र कार्यदल बनाएको, महालेखाको परामर्श लिएर रकम भुक्तानी दिएको भनेर ढाँटेको पनि आरोप छ ।

उपसमितिको प्रतिवेदनमा भनिएको छ, ‘रकम भुक्तानी गर्न बदनीयतपूर्वक मिलेमतो गरेको देखिँदा मन्त्रीले जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिँदा प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्दछ ।’