कास्की ३ मा बामको चुनावी प्रचार सुरु

पोखरा, कार्तिक २१ ।
वाम गठबन्धनले कास्की ३ मा चुनावी अभियान थालेको छ । पोखरा लेखनाथ १९ लामाचौरबाट सुरु भएको प्रचारमा मंगलबार कोणसभा तथा घरदैलो भएको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश नम्वर ४ का सहसंयोजक गणेश तिमिल्सिनाले नेपालमा दुई तिहाई बहुमतको सरकार बनाएर नेपाल र नेपाली जनतालाई समृद्ध बनाउनका लागि वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । वाम एकीकरणसँग डराएर दक्षिणपन्थीको मिलन सुरु भएको भन्दै उनले जनमतले उनीहरुको एकता पुनः टुट्ने दावी गरे ।
कार्यक्रममा प्रतिनिधी सभा उम्मेदवार कास्की क्षेत्र नम्वर ३ का जगत विश्वकर्माले आफ्नो उम्मेदवार देश विकास र समृद्धिका लागि भएको भन्दै वाम गठबन्धनको अभियानमा एकजुट हुन आग्रह गरे । क्षेत्र नम्वर ३ (क) तर्फका प्रदेश सभा सदस्यका उम्मेदवार रामजी बरालले नेपालमा वाम गठबन्धन ऐतिहासिक सावित हुने विश्वास ब्यक्त गरे । उनले बहुमत प्राप्त राजनीतिक दलबाट सरकार गठन हुने भन्दै जनताको मौलिक हक अधिकारलाई संविधानबाटै सुनिश्चित गर्न आँफु लागि पर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेताहरु पुष्पा के.सी भण्डारी, सीता गीरी वली, दामोदर बैरागी लगायतले बोलेका थिए ।
कोणसभापछि उम्मेदवार र नेताहरु १९ नम्बर वडाको गैरीखोर, भण्डारीथर, ढाँड, जिमिरे, तरी, करायचौतारा खेत, खत्री डहर, भक्तिपथ लगायतका ठाउँमा घरघरमै पुगेर मतदातासँग मत मागेका थिए ।