कास्की २ को उपचुनावः नेकपा उम्मेदवारमा कसरी आयो ‘ट्वीस्ट’ ? (उम्मेदवार को ?)

पोखरा, कार्तिक १४ ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ अहिले जनप्रतिनिधिविहिन छ । यो रिक्त पदमा आउदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यसका लागि अहिले उम्मेदवार छनौट लगभग अन्तिम चरणमा छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट जिल्ला कमिटीले अघिल्लो साता एकजनाको मात्रै नाम प्रदेशलाई सिफारिस गरेको थियो ।

रवीन्द्रपत्नी विद्या भट्टराईलाई निर्विकल्प उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको केही दिनमै प्रदेश कमिटीबाट नामावली हेरफेर भयो । प्रदेशले विद्यासँगै नेकपाका पूराना नेता सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम पनि थपेर केन्द्रमा पठाईदियो । केन्द्र्रबाट ३ जनाको नाम सिफारिस गर्न सर्कुलर पठाएका कारण ३ जनाकै नाम सिफारिस गरिएको प्रदेश कमिटीले जनाएको छ ।

यद्यपी यो निर्णयलाई लिएर अहिले कास्कीमा ठूलै खैलावैला सुरु भएको छ । केहीले विद्याको त्रिभुवन विश्वविद्यालयबाट राजीनामा स्विकृत नभएका कारण प्राविधिक समस्या हुने आँकलन गरेर ३ जनाको नाम सिफारिस गरिएको बताएका छन् भने केहीले चाहीँ विद्यालाई उम्मेदवार नबनाउने प्र्रपञ्च रचिएको आँकलन गरेका छन् ।

‘विद्याजीको राजीनामा स्विकृत भएकै छैन । प्र्राविधिक कारणले स्विकृत भएन भने पछि समस्या आउन सक्छ,’ एक नेताले भने, ‘त्यसैका लागि अहिले नै ३ जनाको नाम पठाईएको हो । ३ जनाको नाम पठाउँदैमा कुनै पहाड खस्दैन ।’ सांसदमा उम्मेदवारी दिन मनोनयन दर्ता गर्ने समयसम्म सरकारी कर्मचारीबाट राजीनामा स्विकृत भएको हुनुपर्ने प्राबधान छ ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पनि उम्मेदवार हेरफेर गर्न नभई सहभागीता मिलाउन नयाँ नाम थपिएको बताए । ‘वहाँको नाम १ नम्बरमै छ । केन्द्रले दिएको सर्कुलर अनुसार रित पुर्याउनकै लागि भएपनि ३ जनाको नाम पठाउनुपर्ने थियो,’ उनले भने, ‘यहाँको निर्विकल्प उम्मेदवार विद्या जी नै हो । जनभावना पनि यही हो, हाम्रो निर्णय पनि यही हो ।’

एकल उम्मेदवार सिफारिस भएकी भट्टराईले आफ्नै जोडबलमा अरु नाम थप्न आग्रह गरेको बताईन् । ‘मैले नै केन्द्रको निर्णय अनुसार सिफारिस गरिदिनु भनेको हुँ । नाम बढाउदैमा उम्मेदवार परिवर्तन हुने भन्ने छैन,’ उनले भनिन्, ‘जिल्लाले गरेकै निर्णय अनुसार प्रदेशले १ नम्बरमा मेरो नाम राखेको छ । केन्द्रले पनि सोही अनुसार निर्णय गर्नेमा ढुक्क छु ।’

नेपाली काँग्रेसबाट १६ जनाको नाम जिल्लाबाट सिफारिस गरिएको छ । काँग्रेसले रवीन्द्रसँग पराजीत भएका देवराज चालिसेलाई नै उम्मेदवार बनाउने सम्भावना बुझिएको छ । यद्यपी सोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण विजुक्छे र खेमराज पौडेल पनि उम्मेदवारको रेसमा छन् ।