कास्की २ उपचुनावः मतदान आज
प्रकाश ढकाल
पोखरा, मंसर १४ ।
कास्की २ मा शनिबार (आज) मतदान हुँदै छ । मतदानको सबै तयारी सकिएको छ । निर्वाचन हुने सबै मतदान स्थल र मतदान केन्द्रमा कर्मचारी पुगेर आवश्यक संरचना बनाईसकेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी कुल ४ सय १० जना कर्मचारी कास्की २ मा खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ५ जना कर्मचारी पर्ने गरी ब्यवस्थापन मिलाईएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए । ‘कर्मचारीहरु मतदान केन्द्रमा पुगिसक्नुभयो । मतपत्र सहितका सामग्री पुगिसके । मतदाताका परिचयपत्र वितरण भैसकेको छ,’ उनले भने, ‘मतदानका लागि सबै ठाउँ तयार छ ।’
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्कीमा उपचुनाव हुन लागेको हो । ११ राजनीतिक दल र १० स्वतन्त्र गरी २१ जना चुनावी प्र्रतिश्पर्धामा छन् । ७१ हजार ८ सय ७१ जनाले यो क्षेत्रमा मतदान गर्नेछन् । अघिल्लो चुनावभन्दा अहिले १ हजार २ सय २० जना नयाँ मतदाता थपिएका छन् । चुनावका लागि यहाँका विद्यालयहरु बन्द गरिएका छन् भने शुक्रबार राती १२ बजेपछि सवारी साधन गुड्न समेत रोक लगाईएको छ ।
अघिल्लो चुनावमा ७० हजार ६ सय ५१ मतदातामध्ये प्र्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४९ हजार ९ सय १३ मत खसेको थियो । प्रदेशसभा (क) मा २६ हजार ४ सय ३३ र (ख) मा २३ हजार ५ सय २० मत खसेको थियो । प्रत्यक्षमा भन्द्या समानुपातिकर्फत ७ मत कम खसेको थियो । समानुपातिक तर्फ ४९ हजार ९ सय ६ मत खसेको थियो भने प्रदेशसभा (क) मा २६ हजार ४ सय ६ र प्रदेशसभा (ख) मा २३ हजार ५ सय मत खसेको थियो । यसपालि पनि ५० हजार हाराहारीमा मत खस्ने अनुमान छ ।
कास्की २ मा पोखरा महानगरका ११ वटा वडा पर्दछन्् । ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाका मतदाताले यो उपचुनावमा मतदान गर्ने छन् ।
अधिकांशले पाउदैनन् आफुलाई मत दिन
कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पाउने छैनन् । ५ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार बाहेक अरुले आफुलाई मत दिन नपाउने भएका हुन् । नेकपा उम्मेदवार विद्या भट्टराईले पोखरा ३३ बाट मतदान गर्नेछिन् भने साझा पार्टीकी रजनी केसीले पोखरा ४ बाट मतदान गर्नेछिन् । राप्रपाका रोमबहादुर भण्डारीले पनि आफैलाई मत दिन पाउनेछन्् । उनले पोखरा १५ बाट मतदान गर्नेछन् । यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैलाई मतदान गर्न पाउने भाग्यमानी हुन् । उनले पोखरा २१ बाट मतदान गर्ने छन् । राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा ७ कि मतदाता हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएका सुनिलबहादुर कोइराला र रनबहादुर दमैले पनि आफुलाई मतदान गर्न पाउने छन् । कोइरालाले पोखरा ४ र दमैले पोखरा १७ बाट मतदान गर्ने छन् । काँग्रेस उम्मेदवार खेमराज पौडेल कास्कीकै भएपनि उनी क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् । काँग्रेस बीपीका चन्द्रबहादुर रानाभाट क्षेत्र नम्बर १, देशभक्त समाजका विरबहादुर विक कास्की र समाजवादी पार्टीका धर्मराज गुरुङ कास्की ३ का स्थायी बासिन्दा हुन् । उनीहरुको मताधिकार समेत उतै छ ।
स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंंगेनी स्याङजाबाट आएका हुन् भने सुनिल भुषाल कपिलबस्तु, दीपक रेग्मी सुर्खेत र पुरुषोत्तम खनाल स्याङजाबाट आएर उम्मेदवारी दिएका हुन् । कास्कीकै भएपनि केही स्वतन्त्र उम्मेदवार फरक निर्वाचन क्षेत्रबाट आएका छन् । कमलजंग कुवँर, जमुना शर्मा, लक्ष्मी कुमारी भुजेल र उमनाथ गौतम कास्की ३ तथा नवराज बास्तोलाको कास्की १ मा मतदाता नामावली छ ।
केही राजनीतिक दलले पनि आफ्ना उम्मेदवार बाहिरबाट झिकाएका छन् । जनमुक्ती पार्टीका पूर्णबहादुर राना तनहूँ रिसिङका स्थायी बासिन्दा हुन्् भने मंगोल नेशनल अर्गनाइजेसनका रियाज गुरुङ पर्वतका हुन् ।
आधा मतदानस्थल संवेदनशील
कास्की २ मा आधाभन्दा बढी मतदान स्थल संवेदनशीलको सूचीमा छन्् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रम नजिकै बम विस्फोट भएपछि कास्कीका मतदाताहरुमा केही त्रास बढेको छ । यसले सुरक्षा चुनौति समेत बढाएको छ । त्यसको अघिल्लो दिन पनि पोखरा ३३ का वडाध्यक्षको गाडीमा बम विस्फोट भएको थियो । यद्यपी प्रहरीले यसलाई शक्तिशाली बम नभएको जनाएको छ । बम विस्फोटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । कास्कीका ३२ मध्ये आधाभन्दा बढी मतदानस्थलहरुलाई अति संवेदनशीलको सूचीमा राखेर सुरक्षाकर्मी र कर्मचारीहरु परिचालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । देशभरीमै हुने उपनिर्वाचन मध्ये एक मात्रै प्रतिनिधिसभाको चुनाव भएकोले पनि यहाँ धेरैको ध्यान केन्द्रित छ ।
ठूला दलहरु जित्नका लागि कम्मर कसेर लागेका छन् भने साना दलहरु आफ्नो अस्थित्व देखाउनका लागि प्रतिश्पर्धामा छन् । यद्यपी सबैले जित्ने दावी भने छोडेका छैैनन् । ‘अवाञ्छित क्रियाकलापलाई रोक्नका लागि सुरक्षाफौज परिचालन भैसकेको छ । त्यसअनुसारको रणनीति बनाउने र थप सजगता अपनाउने काममा सचेत छौं,’ केसीले भने, ‘हामी सुरक्षाको प्रत्याभुति दिन चाहान्छौं । सुरक्षाको अधिकतम ब्यवस्थापन मिलाएका छौं । मतदाताहरुलाई ढुक्क भएर मतदानमा भाग लिन आग्रह गर्दछु ।’
सबै मतदानस्थल र मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन क्षेत्रमा बर्गिकरण गरिएको छ । पोखराको मुख्य शहरी क्षेत्रलाई कम सम्बेदनशील क्षेत्र, शहरोन्मुख ठाउँलाई संवेदनशील र ग्रामिण क्षेत्रका मतदानस्थलहरु अति संवेदनशीलको सूचीमा परेका छन् । संबेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालन गरिएको केसीले जानकारी दिए । सुरक्षा निकायको रिपोर्टिङ, भौगोलिक विकटता, दलहरुबीचको प्रतिष्पर्धा र चुनाव बिरोधी गतिविधी गर्ने समूहहरुको गतिविधिलाई मुल्यांकन गरेर एक तिहाई मतदान स्थललाई अति संवेदनशिलको रुपमा पहिचान गरिएको छ । यहाँ ३२ मतदानस्थल र ८२ मतदान केन्द्र छन् ।
मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना तैनाथ हुने छन् । हरेक मतदानस्थलमा १५ देखि २० प्रहरी, २२ जना सशस्त्र र आवश्यकअनुसार नेपाली सेनालाई खटाईएको छ ।
आधा दर्जभन्दा बढी पक्राउ
चुनाव लक्षित सुरक्षामा चुनौति बढ्न सक्ने भन्दै कास्की प्र्रहरीले शंकास्पद केही ब्यक्तिहरुलाई पक्राउ गरेको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)की केन्द्रिय सदस्य एबम कास्की जिल्लाकी कार्यबाहक अध्यक्ष आस्था नेपाली र मेघनाथ आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि प्रदर्शनी केन्द्रमा विस्फोट लगत्तै फिर्केखोला मापदण्ड सरोकार समितिका महासचिव कृष्णप्रसाद घिमिरे ‘टिकाराम’लाई पक्राउ गरेको थियो । पोखराबाटै पक्राउ परेका पत्रकारद्धय राजकुमार घिमिरे र आश तमुलाई प्रहरीले हिरासतमै राखेको छ । घिमिरेलाई प्रहरीमाथी गालिगलौज गरेको आरोप छ । उनीहरुलाई सार्वजनिक मुद्धामा अनुसन्धान भैरहेको बताईएको छ । श्रोतका अनुसार भुर्जुङखोलाका भीमसेन परियार र किसानसिहं गुरुङ पनि प्रहरीको नियन्त्रणमा छन् ।
तस्विरः अघिल्लो चुनावमा पोखरा ११ शिबशक्ति माविमा भएको मतदानको दृष्य । तस्विरः प्रकाश ढकाल