कास्की लिग फुटबलमा आउट

पोखरा, असोज ४ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिगमा यसपालि राजधानीबाहिरका टिम समावेश गरिँदा कास्की भने बञ्चित भएको छ । प्रतियोगितामा १६ टिमहुँदा मोफसलबाट ४ टिम समावेश छन् । आगामी मंसिर १४ गतेबाट हुने प्रतियोगितामा यस वर्ष झापा ११, मोरङ, रुपन्देही र सुदूरपचिश्मलाई थप समावेश गरिएको छ ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले कास्की जिल्ला फुटबल संघलाई निमन्त्रणा गरेपनि भाग नलिएको बताएका छन् । तर एन्फा कास्की अध्यक्ष धर्मसिंह लामिछानेले आफूहरुलाई खबरै नगरेको गुनासो गरेका छन् । उनले संघ कास्कीलाई अहिलेसम्म जानकारी नआएको हुँदा आफ्नो कमजोरी नभएको बताए ।
केन्द्रीय अध्यक्ष श्रेष्ठले भाग नलिनु कास्कीकै समस्या भएको दाबी गरे । उनले भने, ‘हामीले प्रत्येक वर्षमा हुने प्रतियोगितामा भाग लिन अनुरोध गर्दै आएका छौं । हरेक वर्ष उहाँहरुलाई बोलाउने गर्छौं तर, आउनु हुँदैन ।’ सकेसम्म धेरै खेलाडीको बीचमा प्रतियोगिता गराउने योजना हुँदा–हुँदै पनि आफूहरुले नसकेको उनले सुनाए ।
४ वर्षअघि कास्की जिल्लाका खेलाडी संगम क्लबको तर्फबाट भाग लिएका थिए । उक्त समयमा संगम क्लब फाइनलमा समेत प्रवेश गरेको थियो । त्यसपछि कास्की जिल्लाका तर्फबाट शहीद स्मारक ए डिभिजन खेलमा कुनै टिमले पनि भाग नलिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।