कास्की प्रहरी प्रदेशकै उत्कृष्ट

पोखरा, असोज २७ ।
जिल्ला प्रहरी कार्यालय कास्की ४ नम्बर प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रहरी दिवसको अवसरमा शुक्रबार क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल र प्रदेश प्रहरी प्रमुख कमल सिं बमले संयुक्त रुपमा सम्मान गरे । अपराध नियन्त्रण, ट्राफिक ब्यवस्थापन, शान्ति सुरक्षा लगायतलाई मुल्याकंन गरेर सम्मान गर्ने गरिन्छ । गएको बर्ष कास्की प्रहरीले अपराध नियन्त्रण र लागु औषध नियन्त्रणमा उल्लेख्य प्रगती गरेको छ । उत्कृष्ट कार्यालय प्रमुखको रुपमा पनि कास्की प्रहरी प्रमुख एसपी अशोक सिं सम्मानित भएका छन् । ‘म आएकै दिन १५ वटा कार्ययोजना बनाएर काम गरिरहेको छु । त्यसमा गरेको प्रगतिले मलाई सम्मानित गरेको भन्ने ठानेको छु, उनले भने–यो महाअभियान निरन्तर चल्छ । कास्कीमा शान्ति सुरक्षामा कुनैपनि कमी हुन दिनेछैन ।’
उनले प्राप्त श्रोत साधनको अधिकतम उपयोग गरी नागरिक समाजसँगको सहकार्यमा पोखरालाई उत्कृष्ट शहर र कास्कीलाई उत्कृष्ट जिल्लाको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । ‘७२ वटै वडामा लागु औषध बिरुद्धको महाअभियान सञ्चालन हुन्छ । कानुन विपरित काम गर्ने कोही पनि प्रहरीको नजरबाट जोगिने छैन, उनले थपे–प्रहरी मेरो साथी भन्ने नारा सार्थक बनाउन र सामान्य नागरिकको पहुँचमा प्रहरीलाई पु¥याउन दिनरात खटिनेछु ।’ एसपी सिंह पोखरा आएदेखि ३० जना फरार अभियुक्त पक्राउ परिसकेका छन् भने जुवातास र लागुऔषध नियन्त्रणमा उल्लेख्य प्रगति हात पारेको छ ।
यसैबीच, पोखरामा ६२ औं प्रहरी दिबस भब्य कार्यक्रमका साथ मनाइएको छ । सशत्र प्रहरी गण मुख्यालयमा भएको कार्यक्रममा प्रहरीको क्षेत्रमा काम गर्ने विभिन्न संस्था तथा ब्यक्ति सम्मानीत भएका छन् । राष्ट्रसेवाको क्रममा आफ्नो जीवन बलिदानी दिएका अमर प्रहरीहरुको स्मरणमा श्रद्धाञ्जली समारोह मनाईएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय प्रसासक लक्ष्मण अर्यालले स्थानीय तहको निर्वाचनमा प्रहरीको भूमिका विर्सन नसक्ने बताए । उनले विगतको निरन्तरतासँगै आगामी चुनावलाई पनि शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारीका लागि आग्रह गरे । ‘बिगत देखी नै प्रहरीको काम प्रशंसायोग्य छ । यसको ओझ अझै बढाउनुपर्छ, उनले भने–प्रहरीको कुशल ब्यवस्थापनले आगामी दिनमा सच्चा राष्ट्रसेवकको परिचय दिनेमा विश्वस्त छु ।’
उनले संगठन भित्रको कमजोरी पक्षहरुलाई सुधार गरी विश्वब्यापीकरण भैरहेको आपराधिक गतिविधी नियन्त्रणमा निरन्तर लाग्न सुझाए । प्रदेश प्रहरी प्रमुख एआईजी कमल सिं बमले प्रहरीको कामले सबै नेपालीको छाती गर्वले फुल्नुपर्ने बताए । उनले नागरिकको सुरक्षाका लागि खटिने प्रहरीले गलत काम नगर्ने मानसिकता रहेको भन्दै त्यसलाई ब्यवहारमा उतार्न आग्रह गरे ।