कास्की प्रहरीको मिसनमा फरार अपराधी, महिना दिनमै १०२ पक्राउ

पोखरा, साउन ८ ।
मादी गाउँपालिका मिजुरे डाँडाका मानबहादुर शाही (ठकुरी माइलो) २०५६ साल असोजमा ज्यानमुद्धामा समातिए । शाहीको समूहमाथि गाउँकै अमिरबहादुर रानाभाटलाई कुटपिट गरी मारेको आरोप थियो ।

पुर्पक्षका लागि ३ वर्ष थुनामा बसेपछि जिल्ला अदालत कास्कीले २०६० सालमा सफाइ दियो । उनी थुनामुक्त भए । तर, पुनरावेदनले फैसला उल्ट्याउँदै १२ वर्षको जेल सजाय सुनायो । सर्वोच्च अदालतले पनि पुनरावेदन अदालतकै फैसलालाई सदर गर्यो । जिल्ला अदालतले सफाइ दिएर पनि पुनरावेदन र सर्वोच्चले सजाय सुनाएपछि शाही फरार थिए ।

घटना घटेको २० वर्षपछि कास्की प्रहरीले शाहीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ । शाही जेल चलान भइसकेका छन् । हत्यामा संलग्न अन्य ३ जना अझै फरार नै छन् । शाहीले गाउँतिरै भैंसी पालेर बसेका थिए । शाहीलाई पक्राउ गर्न प्रहरी भैंसी किन्ने ग्राहक बनेको गएको थियो । धेरै पटकको प्रयासपछि प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

पोखरा–१७ का शंकर लुइँटेल लागु औषधमुद्दामा २०७२ चैत १० गते दोषी ठहर भए । उनलाई १ वर्ष कैद र ५० रुपैयाँ जरिवानाको सजाय अदालतले सुनाएको कास्की जिल्ला अदालतका तहशीलदार मोहन अधिकारीले जानकारी दिए । तर, उनी फरार थिए । लुईंटेलले पोखरा–३३ लेखनाथमा व्यापारसँगै जग्गा दलालीको काम गरिरहेका थिए । लामो समयदेखि प्रहरीलाई छल्दै आएका लुईंटेललदाई हालै कास्की प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।

फरार सूचीमा रहेका लुईंटेलले आंगालेको जग्गा दलालीको काममार्फत नै उनी प्रहरी फन्दामा परे । प्रहरीले जग्गा किन्ने ग्राहक बनेर उनको खोजीमा थियो । लुईंटेलका एक जना साथीमार्फत प्रहरीले नम्बर पायो । त्यही नम्बरमा फोन गरेर जग्गा किन्न चाहेको बताएपछि पोखरा बाहिर गएका लुईंटेलले मान्छे लगाएर जग्गा देखाएका थिए ।

पोखरा विश्वविद्यालय पछाडि ३ वटा घडेरीका लागि प्रहरीले १ करोड ३० लाखमा जग्गा लिने पक्का गर्यो । लुईंटेल भोलिपल्टै पोखरा फर्के । जग्गा बिक्ने लोभमा पोखरा फर्केका उनलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–२४ कास्कीकोटमा वेदहरि भट्टराई जबरजस्ती करणीको अभियोगमा २०६३ फागुनमा समातिए । पुर्पक्षका लागि डेढ वर्ष थुनामा बसेपछि २०६५ साल जेठ ३० गते जिल्ला अदालत कास्कीले उनलाई सफाइ दियो ।

जिल्ला अदालतबाट सफाइ पाएपछि उनी वैदेशिक रोजगारमा लागे । तर, २०६७ वैशाख २६ गते पुनरावेदनले भट्टराई जबरजस्ती करणीमा दोषी ठहर गर्दै १० वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनायो । भट्टराई भने विदेश जाने–आउने गरिरहे । तर, अदालती प्रक्रियामै आएनन् र फरार सूचीमा परे । घटना घटेको १३ वर्ष र दोषी ठहर भएको ९ वर्षपछि शुक्रबार उनलाई प्रहरीले पक्राउ गर्यो । बाख्रापाठा किन्ने ग्राहक बनेर गएको प्रहरी टोलीले भट्टराईलाई पक्राउ गरेको हो । उनी सजाय भुक्तानका लागि जेल चलान भएका छन् ।

अदालतबाट दोषी ठहर भइ विभिन्न ठाउँमा पेशा परिवर्तन गरी बसेका फरारलाई प्रहरीले भेष बदलेर प्रक्राउ गरिरहेको छ । फरारहरु कोही विदेश आउजाउ त कोही जग्गा दलाली, कोही पशुपालन त कोही गाडी चलाएर बसेका थिए । ‘फरार अपराधी पक्राउ गर्न कतै भैंसी किन्न त कतै जग्गा किन्ने ग्राहक बनेर त कतै बाख्रापाठा किन्ने ग्राहक बनेर पुग्यौं ’ फरारलाई प्रकाउ गर्न खटिएका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीले भने, ‘जसले जे पेशा गरेको छ, त्यही पेशासँग सम्बन्धित बनेर पटकपटकको प्रयासपछि पक्राउ गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय कास्कीले अहिले फरार अपराधीलाई पक्राउ गर्ने अभियान नै चलाएको छ । अदालतबाट फाइल मगाएरै विभिन्न घटनामा फरारको सूची तयार पाररिएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताए ।

उनका अनुसार पछिल्लो एक महिनामा १०२ जना पक्राउ गरेको छ । ‘म कास्कीमा प्रमुख भएर आएपछि अदालतले दोषी ठहर गरेका तर, फरार रहेका अपराधी प्रक्राउ गर्न संयन्त्र नै लगाएको छु’ प्रहरी प्रमुख रानाले भने, ‘दोषी ठहर भएका अपराधी समाजमा खुलेआम हिँडडुल गर्दा यसले नराम्रो प्रभाव पारेको छ ।’

दोषी व्यक्ति खुलेआम हिँड्दा पीडितलाई असर पर्ने र समाजमा दण्डहिनता बढाउने भएकाले फरारलाई प्रक्राउ गर्ने अभियान चलाइएको रानाले बताए । ‘दोषी व्यक्तिलाई पक्राउ नगर्ने र सजायको कठघरामा नल्याउने हो भने दण्डहिनता मौलाउँछ’ उनले भने, ‘थप अरु घटना घट्न सक्ने सम्भावना पनि रहन्छ ।’

प्रहरीले पक्राउ गरेकाहरु मध्ये धेरै लागुऔषध, चेक अनादर, चोरी मुद्दामा सजाय पाएका व्यक्तिहरु छन् । जबरजस्ती करणी र ज्यानमुद्दाका फरार पनि पक्राउ परेका छन् । केही व्यक्ति भने जेल सजाय नभएको तर, थोरै रकम जरिवाना तिर्नुपर्ने नतिरेका पनि छन् । त्यस्ता व्यक्ति जरिवाना तिरेर छुटेका छन् ।

अदालतले दोषी ठहर गरेर पनि लामो समय पक्राउ नपरेपछि परिवार र समाजलेसमेत बिर्सँदै गइरहेका थिए । एक्कासी प्रहरी पुग्दा ढुक्क भएर बसेका अपराधीहरु छाँगाबाट खसेजस्तो भएको प्रहरी सहायक निरीक्षक सुवेदीले सुनाए ।–मेरो समय