कास्की प्रहरीको नजर पोखराको यौन धन्दातिर, पोखराबाट एकै दिन १७ जना पक्राउ

पोखरा, साउन २२ ।
एक समय थियो, पोखराको बाग्लुङ बसपार्क बाटो हिँड्न सकिने अवस्थै थिएन । दिउँसै समेत बाग्लुङ बसपार्क गल्ली भएर ओहोरदोहोर गर्दा चिन्नेहरुले देखेभेटमा ‘ओहो के हो ? बाग्लुङ बसपार्क तिर !’ भन्ने समय थियो । काम विशेषले त्यसठाउँ पुग्नुपरे पनि चिन्नेले देख्छन् कि ? भन्दै डराउनुपर्ने अवस्था थियो ।

आफ्नो ठाउँको यति साह्रै बदनाम हुँदा त्यहीँ बसोबास गर्नेहरुलाई झनै कस्तो हुँदो हो ? हो, पोखरा बाग्लुङ बसपार्क क्षेत्र ‘अघोषित रेडलाइट एरिया’ नै हो भन्दै फरक पर्थेन । तर पोखराका अन्य ठाउँमा यौन व्यवसाय हुँदै नहुने भने होईन । लेकसाईडका ठूला होटलमा त प्रहरी छिर्न पनि छिर्दैनन् ।

कास्की प्रहरीको कमाण्ड सम्हाल्न जब बसन्तकुमार लामा आए, उनकै पालामा बाग्लुङ बसपार्कमा कडाई गरियो । त्यहाँ एकीकृत भएको जस्तो यो व्यवसाय त्यसपछि झनै छरियो । एसपी लामा पछि अहिलेसम्म यौन व्यवसायको अड्डामा निगरानी र नियन्त्रण नभएको होईन । तर, एसपी दानबहादुर कार्की कास्कीको प्रहरी नेतृत्व सम्हाल्न आएपछि लागूऔषध कारोबारीसँगै ध्यान यौन व्यवसाय बन्द गर्ने तर्फ पनि लागेको छनक मिलेको छ ।

पोखरामा एकै दिन यौन व्यवसायमा संलग्न १७ जना पक्राउ परेका छन् । सोमबार पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये १० जना महिला र ७ जना पुरुष रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये १० जना महिला र ५ जना पुरुषले ग्राहकलाई सम्पर्क गर्ने, मोलमोलाइ गर्ने गरेको पाइएको छ । अन्य २ जना पुरुष भने होटल संचालक रहेको कार्कीले बताए । लेकसाइडबाट पक्राउ परेको भएपनि उनीहरुलाई फरकफरक होटलबाट समातिएको हो ।

‘गोप्य सूचना र निगरानीको आधारमा पक्राउ गरिएको हो, उनले भने, ‘२(३ ठाउँबाट नियन्त्रणमा लिएका छौं ।’ उनीहरु सबै २० देखि ३० वर्ष उमेर समूह भित्रका छन् । यसबाहेक केही नाबालिका पनि पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर उनीहरुलाई त्यहाँ पुर्याइएको खुलेको छ । उनीहरु सबै कास्की जिल्ला बाहिर गोरखा, धादिङ लगायतका जिल्लाका छन् ।

२ जना पुरुष होटल संचालक भने पहिले पनि पक्राउ परेर छुटेको पाइएको छ । पक्राउ परेकाहरुलाई मानव बेचबिखनअन्र्तत मुद्धा चलाइने प्रहरीले जनाएको छ । जहाँबाट उनीहरु पक्राउ परेका छन् ती होटलहरु बिना दर्ता संचालनमा रहेको र यौन व्यवसाय हुने गरेको प्रहरी बताउँछ ।

अवैध रुपमा भैरहेका यस्ता क्रियाकलाप नियन्त्रणमा लिन आफू नेतृत्वको प्रहरी प्रशासन क्रियाशील रहेको कार्कीले बताए । पोखराबाट समयसमयमा यौन व्यवसायमा संलग्नहरु पक्राउ परिरहेका हुन्छन् । गण्डकी प्रदेश सरकार नै व्यवस्थित रेडलाइट एरिया बनाउने पक्षमा छ ।

प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले व्यवस्थित बनाएर पर्यटकको आकर्षण बनाउनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । पोखराका सबै ठाउँमा एकै तरिकाले प्रशासनले कारबाही प्रक्रिया चलाउनुपर्यो नभए व्यवस्थित गर्न अगाडि बढ्नुपर्ने देखिएको छ ।
पत्रकार अनुप पौडेलले विगखवका लागि खवर लेखेका हुन् । file photo