कास्की प्रहरीको अर्को सफलता-नक्कली प्रहरी बनेर लाखौं ठग्ने पेसेवार ठग पक्राउ

कास्की, पुस १२ गते ।
कास्कीमा नक्कलि प्रहरी बनेर एक ब्यक्तिले झण्डै एक करोड रुपैयाँ ठगी गरेका छन् । कास्की र आसपासका विभिन्न जिल्लाका ब्यक्तिहरुलाई सादा पोशाकको प्रहरी बनी उनले ठगी गरेका हुन् । ठगीको आरोपमा प्रहरीले लमजुङको मस्र्याङदी गाउँपालिका घर भई पोखरा १५ काजीपोखरी बस्ने २८ बर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो ।

कास्की प्रहरीका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको कमाण्डमा गएको प्रहरी टोलिले गुरुङलाई काठमाण्डौंको गोंगवु बसपार्कबाट पक्राउ गरेको हो । उनले हालसम्म २९ जनाबाट ८१ लाख ८५ हजार रुपैयाँ उठाएको खुलेको छ ।

डेढ बर्षदेखि गुरुङले नक्कली पुलिस बनेर ठगी गरेको बताईएको छ । ‘कहिले कास्की प्रहरीको असई र कहिले राष्ट्रिय अनुसन्धानको स्टाफ भनि झुक्याएर पैसा असुलेको खुलेको छ, कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्र गुरुङले भने–कसैलाई सरकारी जागीर लगाउने प्रलोभन देखाई त कसैलाई गाडीको व्यापार गर्ने भनि ठगि गरेको छ ।’ ठगी गरेको रकम काठमाण्डौं र पोखराका डिस्कोहरुमा खर्च गरेको स्विकारेका छन् ।