कास्की कारागारका १९ कैदीलाई कैद मिनाहा

पोखरा, असोज १९ ।
दशैको अवसरमा कास्की कारागारका १९ जना कैदीको कैद मिनाह भएको छ । असोज २ गते नेपाल सरकारले गरेको निर्णय अनुसार कास्की कारागारका १९ कैदीलाई असोज ९ गते रिहा गरिएको कारागार प्रमुख हरिप्रसाद गौतमले बताए ।
‘तोकिएको कैदमा कम्तीमा ४० प्रतिशत भुक्तान गरिसकेका र असल चालचलन भएकालाई रिहाइको लागि सिफारिस गरिन्छ,’ उनले भने, ‘यसका लागि धेरै प्रक्रिया पूरा गर्नुपर्छ ।’ जसमा वहुविवाह मुद्दामा कैद सजाय भुक्तान गरेका ४ जना, कर्तव्य ज्यान मुद्दाका ६ जना, चोरी मुद्दाका ६ जना, गर्भपतन ज्यान मुद्दा, डाँका चोरी मुद्दा र हातहतियार मुद्दाका १–१ जनाको कैद मिनाह गरिएको प्रमुख गौतमले बताए ।
जेलमुक्त हुनेमा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका बोलप्रसाद शर्मा, लालप्रसाद तिलिजा, राजु गुरुङ, देवीराम नेपाली, कर्णबहादुर धामी, राजु विक छन् । डाँका चोरी मुद्दामा कैद भुक्तान गरेका पण्डित विक भन्ने हुतराज शंकर र हातहतियार मुद्दामा सजाय काटेका बिट्टु सिंहको पनि बाँकी कैद मिनाह भएको छ ।
वुहविवाह मुद्दामा सजाय काटिरहेका प्रकाश सुनार, सूर्य सुनार, रामसुभग हरिजन, पुष्पराज सिग्देल, गर्भपतन ज्यान मुद्दामा कैद परेका पूर्णप्रसाद सापकोटा, चोरी मुद्दामा कैद परेका सुनिल परियार, चन्दन विक, दीपक बोगटी, प्रकाश खत्री, युमिन्द्र गुरुङ, सुमन राईको कैद मिनाहपछि जेलमुक्त भएका छन् ।
कैद मिनाहको लागि कारागार प्रमुख र प्रमुख जिल्ला अधिकारीले कारागार व्यवस्था विभागमा सिफारिस गर्छन् । सो सिफारिस विभाग हुँदै मन्त्री परिषदबाट पारित भएपछि राष्ट्रपतिद्वारा कैद मिनाह हुन्छ । यसअघि गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते कास्की कारागारका २५ जनाको कैद मिनाह भएको थियो ।