कास्की काँग्रेस सभापतिको चेतावनीः ‘बाहिरको उम्मेदवार पठाए फर्कादिन्छौं’

पोखरा, कार्तिक १६ ।
निर्वाचन क्षेत्र बाहिरका उम्मेदवार दिए फर्कादिने कास्की काँग्रेसका सभापति कृष्ण केसीले चेतावनी दिएका छन् । निर्वाचन क्षेत्र कोरेपछि त्यहीँका कार्यकर्ताले अवसर पाउनुपर्ने भन्दै उनले बाहिरको उम्मेदवार नपठाउन पार्टीसँग आग्रह गरेका हुन् । ‘निर्वाचन क्षेत्र किन कोरिन्छ ? ग्राउण्डमा एउटाले काम गर्ने अनि अवसर अर्कोले पाउने भन्ने हुँदैन,’ उनले भने, ‘यहीँका कार्यकर्तालाई उम्मेदवार बनाउनुपर्छ । सकेसम्म जिल्लाबाट सिफारिस भएकैमध्ये दिउन् । त्यसमा नसके बरु १७ औं नम्बरको मान्छे खोजेर पठाए हुन्छ ।’

कास्की २ को उपनिर्वाचनमा काँग्रेसले धनराज गुरुङलाई उम्मेदवार बनाउने सम्भावना देखिएपछि सभापति केसीले बाहिरका मान्छे नपठाउन सुझाएका हुन् । यो क्षेत्रमा बरिष्ठ नेता रामचन्द्र पौडेलले आफु अनुकुलका मान्छेलाई उम्मेदवार बनाउने बुझिएको छ । गुरुङ उनी निकटकै हुन् । त्यसो त यसअघि स्व. रवीन्द्र अधिकारीसँग पराजीत भएका देवराज चालिसेपनि पौडेल निकट मानिन्छन् । श्रोतका अनुसार पौडेलले देवराजलाई उम्मेदवार बनाउन ग्रिन सिग्नल दिएका छन् ।

‘चालिसे पहिलेकै घाईते (पराजीत) हुन् । उनैलाई दिए हुँदैन र ?,’ एक नेतासँग सुझाव माग्दै उनको भनाई उदृत गर्दै पौडेल निकट श्रोतले भन्यो, ‘देवराजले नै टिकट पाउने सम्भावना छ । जिल्लाका नेताहरुले पनि बाहिरको मान्छे नल्याउन दवाव दिएका छन् । त्यसो भयो भने सम्भावना झनै बढ्छ ।’ केन्द्रीय सभापति सहित बरिष्ठ नेता शनिवार तनहूँको कार्यक्रममा सहभागी थिए ।

नेता धनराज गुरुङले पार्टीले चाहे आफू कास्की–२ मा आउन तयार रहेको यसअघि नै सार्वजनिक गरेका थिए । अघिल्लो चुनावमा अवसर नपाएपछि एकाथरी उनको पक्षमा देखिएका छन् भने अर्काथरी चालिसे पराजीत भएकोले ५ बर्षका लागि उनैले अवसर पाउनुपर्ने बताउँछन् । कास्की सभापति केसीले सकेसम्म निर्वाचन क्षेत्रकै त्यो पनि नभए कास्कीकै उम्मेदवार हुनुपर्नेमा जोड दिएका छन् ।