कास्की काँग्रेसका ‘हिरो’ विन्दु

प्रकाश ढकाल
पोखरा, पुस २ ।
विन्दुकुमार थापा, सँधैजसो सामाजिक क्षेत्र र ब्यवसायमा सुनिने नाम अव राजनीतिमा स्थापित हुँदैछन् । टिकट पाएकै दिनदेखि उनलाई एउटा ब्लेम थियो पैसाले टिकट ल्याएको । उनको विरुद्ध काँग्रेसकै महाधिबेशन प्रतिनिधी नरेशशंकर पालिखे बागी बने । काँग्रेसका लागि केही सहज भएपनि कास्की २ (ख) समग्रमा काँग्रेस भन्दा बाम गठबन्धन १५ सय हाराहारीले पछाडी थियो । त्यसमाथी बागी । अझ पूर्व सांसद उनका लागि कम्ता चुनौति थिएन । तर सबैलाई पार लगाउँदै थापा कास्की काँग्रेसकै हिरो बने । प्रतिनिधी र प्रदेशसभा गरी ९ निर्वाचन क्षेत्र रहेको कास्कीमा विन्दु एकमात्र बिजेता हुन्, काँग्रेसको तर्फबाट ।
२०१४ सालमा जन्मिएका थापा पोखरासँग सम्बन्ध राख्ने हरेक अभियानमा सँधैजसो सुनिने नाम हो । लामो समय ब्यापार ब्यवसायमा जमेका उनी राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । २०६३ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएका उनले त्यसअघि पनि काँग्रेस निकट विभिन्न संगठनहरुमा रहेर काम गरिसकेका छन् । पोखराको ब्यापार र अर्थतन्त्रसँग उनको नाम पर्याबाची जस्तै भैसकेको छ । थापाले कानुनमा स्नातक गरेका छन् । पोखराकै सबैभन्दा पूरानो सामाजिक संस्था पोखरा उद्योग बाणिज्य संघमा सन् २०१४ देखि २०१६ सम्म अध्यक्ष भएर काम गरिसकेका नेपाल रुस उद्योग वाणिज्य संघको गण्डकी अध्यक्ष हुन् भने गण्डकी विकास बैंकका निर्देशन समेत हुन् । थापा उद्योग र ब्यवसायको क्षेत्रमा स्थापित छन् । हाल उनी नेपाली काँग्रेसको क्रियाशिल सदस्य मात्रै हुन् ।