कास्कीलाई प्रहरीको सुरक्षा योजना

पोखरा, असोज ९ ।
नेपालीहरुको महान् चाड बडादशैं नजिकिएसँगै कास्की प्रहरीले नाका चेकजाँचमा कडाई गरेको छ । जिल्ला भित्रिने र बाहिरिने गाडीहरुमा प्रहरीको निगरानी बढेको छ । सोमबार पत्रकारसँग शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कास्की प्रहरीले सुरक्षा योजना बारे जानकारी गराएको हो । एसपी असोक सिंहले चाडपर्वहरुमा अप्रिय घटना हुन नदिनका लागि पोखराका मुख्य नाका र बजार क्षेत्रलाई कडा निगरानीमा राखिने बताए । उनका अनुसार चाडपर्व सुरक्षाका लागि ३ तहको योजना बनाईएको छ ।
आउटर रिङ, इन्टरमिडियट रिङ र कोर एरिया गरी ३ क्षेत्रमा सुरक्षाकर्मी परिचालन हुने सिंह बताउँछन् । ‘हामीले पोखरा भित्रिने नाकाहरुमा कडाइका साथ जाँच गर्नेछौं । विगतमा अपराधिक गतिविधिमा संलग्न रहेको व्यक्तिहरुलाई पनि विशेष निगरानीमा राख्छौं, उनले भने–ठाउँठाँउमा चेक गर्ने र शंका लागेका व्यक्तिहरुलाई सोधपुछ गर्ने काम हाम्रो पहिलो प्राथमिकता हो । बजार क्षेत्र पनि पूर्ण निगरानीमा हुन्छ ।’ कुनै पनि बेला भइपरि आउने घटनाका लागि सजग भएर प्रहरी खटाउने उनको भनाई छ ।
गाडीमा लागू भएको भाडादर कार्यान्वयनलाई पनि प्राथमिकता साथ हेरिने उनले बताए । चाडपर्वको मौका छोपेर गाडीमा भाडा अत्याधिक बढ्ने गुनासो नौलो होईन । तर यसपालि कुनैपनि यात्रुले बढी भाडा तिर्नुपर्दैन, सिंह भन्छन्–बढी भाडा असुले हामीलाई खवर गर्नुस् । तुरुन्तै कारबाही हुन्छ ।’ चाडपर्वमा अन्य समयभन्दा चोरी लुटपाट जस्ता आपराधिक घटना पनि बढ्ने हुँदा जिल्लाभित्रका प्रहरीलाई हाई अलर्टमा रहन उनको निर्देशन छ ।