कास्कीमा ६४ प्रतिशत मत खस्यो (कुन वडामा कति ?)
पोखरा, मंसिर, १४ ।
एकमात्रै प्रतिनिधिसभाको उपनिर्वाचन भएको कास्की २ मा करिब ६४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले ठ्याक्कै तथ्यांक दिएको छैन । यद्यपी वडागत रुपमा हिसाव गर्दा ६४ प्रतिशत मत खसेको बुझिएको छ । निर्वाचन कार्यालयले पनि ६४ प्रतिशत नै अनुमान लगाएको छ ।
अहिले मतपेटिका संकलन भैरहेको छ । कास्की २ मा पोखराका ११ वटा वडा पर्छन् । केही शहरी वडा भएपनि ग्र्रामिण वडाहरु धेरे पर रहेको र सडक सञ्जाल राम्रो नभएका कारण मतपेटिका जम्मा गर्न केही लामो समय लाग्ने बताईएको छ ।
यहाँ ७१ हजार ८ सय ७१ जना मतदाता थिए । त्यसमध्ये ४५ हजार ६ सय १७ मत खसेको मतदान अधिकृतहरुले दिएको तथ्यांक जोेड्दा हिसाव निस्किन्छ । मतदान अधिकृतहरुको सूचना अनुसार वडा नम्बर २ मा १ हजार ५ सय ४० मत खसेको छ भने ७ नम्बर वडामा २ हजार ९ सय १७, ८ मा ३ हजार ९ सय ३९, ९ मा ३ हजार ३८, ११ मा ३ हजार ८ सय २१ र १५ वडामा ४ हजार ८ सय ४ मत खसेको छ ।
यस्तै, १६ नम्बरमा ६ हजार ५ सय २६, १७ मा ६ हजार ३ सय ९२, २० मा २ हजार २ सय ४१, २१ मा ४ हजार ७ सय ५८ र ३३ नम्बर वडामा ५ हजार ६ सय ४१ मत खसेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै ३३ नम्बर वडामा मतदान भएको छ । नेकपाकी उम्मेदवार विद्या भट्टाईले पनि यही वडाबाट मतदान गरेकी थिईन् ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट ७० प्रतिशत भन्दा बढी मत खसेको थियो । ४९ हजार मतदान भएको यो क्षेत्रमा अहिले कम मत खसेको हो । विहानैदेखि निरन्तर रुपमा बम पड्किएका कारण कम मत खसेको हुनसक्ने अनुमान छ ।