कास्कीमा ४ जनाले ल्याए ४ जीपीए

पोखरा, असार १४ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कास्कीका ४ जना विद्यार्थीले सर्वो च्च ४.० जिपिए ल्याउन सफल भएका छन् । गण्डकी बोर्डिङ स्कूलकी मोनिका गौतमले ४.० जिपिए ल्याउन सफल भएकी हुन् । पोखरा १९, अकलाकी मोनिकाले विद्यालयका १ सय २१ विद्यार्थीमध्ये अंक ल्याउन सफल भएकी हुन् । उनले कक्षा ४ देखि गण्डकी पढ्दैआएकी थिइन् ।

उनकी दिदीले सोही विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेकी छन् भने बहिनीले कक्षा ८ पढ्दै छन् । विद्यालयका विज्ञान संकाय प्रमुख राजकुमार ढकालका अनुसार गण्डकीबाट यसपालि ४२ जनाले ए प्लस, ६० जनाले ए, १८ जनाले बी प्लस र १ जनाले बी जिपिए ल्याएका छन् ।

उता, अमरसिंह नमूना माविका सुजल पौडेलले पनि ४.० जिपिए ल्याए । स्याङ् जा घर भइ हाल पोखरा सिर्जनाचोक बस्ने पौडेलले विद्यालयमा कक्षा ७ देखि अध्ययन गर्दैआएका थिए ।

अमरसिंहबाट कुल २ सय ७ जना विद्यार्थी एसइईमा सम्मिलित भएकोमा ४४ जनाको ए प्लस, ५२ ए, ५८ बी प्लस, ३३ बी, ३ सी प्लस र १ जनाको सी छ । ६ जना दृष्टिविहीन विद्यार्थीको नतिजा रोकिएको छ । सबै ६ दृष्टिविहीन विद्यार्थीले परीक्षा दिएको भए पनि के कति कारणले नतिजा रोकिएकोबारे केन्द्रमा गुनासो गरिएको विद्यालय प्रअ तेजश्वी बरालले बताए ।

उता, पोखरा १५, नयाँगाउँको सेन्टमेरिज स्कूलकी सलिना खड् काको ४.० जिपिए आएको विद्यालयले जनाएको छ । औद्योगिक क्षेत्रकी सलिनाले कक्षा ३ देखि नै सो विद्यालयमा अध्ययन गर्दैआएकी थिइन् । कक्षामा तेज सलिनाको सो नतिजाबाट विद्यालय परिवार हर्षित भएको विद्यालय शिक्षक मीनकाजी गुरुङले बताए । उनका अुनसार विद्यालयबाट यसपालि १ सय १८ विद्यार्थी सम्मिलित भएकोमा ३१ जना ए प्लस, ६३ ए र बाँकीको बी प्लस आएको छ ।

कास्कीकै अन्नपूर्ण गाउँपालिका ढिकुरपोखरीको मोर्निङस्टार आवासीय माविका एक विद्यार्थीको पनि ४.० जिपिए आएको छ । लुम्ले, पुरानो घडेरीका रुपेश परियारले ४.० जिपिए ल्याएको विद्यालयका प्रअ फणिन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

विपन्न समुदायका मनबहादुर दमाइ र सीता दमाईका सुपुत्र उनी कक्षा ५ देखि सो विद्यालयमा भर्ना भएका थिए । विद्यालयका ५७ विद्यार्थीमध्ये १३ जनाले ए प्लस, १२ ले ए, २२ ले बी प्लस र १० जनाले बी ल्याए । नतिजाअनुसार कास्कीबाट ९ सय ४६ जना विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका शाखा अधिकृत लोकनाथ आचार्यअनुसार ४.० जिपिए ल्याउने ४ सहित २३ जना ३.९५, ६३ को ३.९, १ सय १७ को ३.८५, ३ सय ३९ को ३.८०, १ सय ६२ को ३.७५, १ सय ९८ को ३.७०, र २ सय ४९ जनाको ३.६५ जिपिए छ ।

जिल्लामा १.२ देखि ४ जिपिए ल्याउने कुल विद्यार्थी १० हजार ५ सय ८९ जना छन् । सोहीअनुरुप २ हजार ७ सय ४० जनाको ए, २ हजार ६ सय ३५ जनाको बी प्लस, १ हजार ८ सय ५५ को बी, १ हजार ४ सय ५१ को सी प्लस, ७ सय १७ को सी, २ सय ४५ को डी र १३ जनाको डीमात्र छ ।

९२ जना विद्यार्थीको नतिजा स्थगित छ । कास्कीबाट नियमिततर्फ १० हजार ८ सय ४० जना परीक्षार्थी सम्मिलित भएका हुन् । यस्तै स्तरवृद्धिका लागि ४८ जना परीक्षार्थी सहभागी भएका थिए । जिल्लाका निजी तथा सार्वजनिक गरी २ सय ४६ वटा विद्यालयले एसइईको लागि विद्यार्थी सम्मिलित गराएका थिए । जसमध्ये सामुदायिक १ सय १४ विद्यालय छन् । यस्तै, नतिजाअनुसार गण्डकी प्रदेशमा कुल ४६ हजार ४ सय ४५ परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा २३ हजार ६ सय ६४ जना छात्रा छन् ।
पत्रकार विजय नेपालले आदर्श समाज दैनिकका लागि खवर लेखेका हुन् ।