कास्कीमा २ लाख ५५ हजार मतदाता

पोखरा, कार्तिक ८ ।
आगामी संविधान सभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीमा अन्ततः कुल २ लाख ५५ हजार ४ सय ५२ मतदाता कायम गरिएको छ । यो संख्या स्थानीय तह निर्वाचनको तुलनामा करिब ३० हजारले बढी हो ।
क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका अनुसार दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ मा हुने संविधान सभा तथा प्रदेश सभा निर्वाचनमा कास्कीका २ लाख ५५ हजार ४ सय ५२ मतदातामध्ये पुरुषको तुलनामा महिला बढी छन् । पुरुष मतदाता १ लाख १९ हजार २ सय ९४ जना रहेकोमा महिला मतदाताको संख्या १ लाख ३६ हजार १ सय ५४ छ । यो भनेको पुरुषको तुलनामा महिला १६ हजार ८ सय ६० ले बढी हो । जिल्लामा तेस्रो लिंगीको संख्या भने मात्र ४ जना छ ।
यसै वषैको वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा कास्कीमा २ लाख २४ हजार ८ सय १३ जना मतदाता थिए । जसमा ७४.८६ प्रतिशत मत खसेको थियो । उक्त निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाका कुल ३३ वटामा १ लाख ६८ हजार ६८ मतदाता थिए ।
यसै वर्ष फोटोसहितको मतदाता नामावलीको विवरण संकलनपछि कास्कीका ३ क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र १ मा पुगेका छन् भने सबैभन्दा कम क्षेत्र २ मा छन् । क्षेत्र १ मा ९६ हजार ८४ जना मतदाता छन् भने क्षेत्र २ मा ७० हजार ६ सय ५१ जना छन् । क्षेत्र ३ मा ८८ हजार ७ सय १७ जना मतदाता छन् ।
यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत कास्कीमा कायम ६ क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र १ को प्रदेश ‘क’ मा ५० हजार २ सय ८९ र कम क्षेत्र २ को ‘ख’ मा ३३ हजार ८ मात्र मतदाता कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।