‘कास्कीमा स्थानीय तह थप्नुपर्छ, पोखराबाट लेखनाथ छुट्याउनुपर्छ’

पोखरा, कात्तिक २४ ।
राज्य पुनसंरचना गर्दा कास्कीमा ५ वटा स्थानीय मात्र तह छन् । जनताको घरदैलोमा सेवा पु¥याउने भन्दै गरिएको पुनसंरचनाको क्रममा स्थानीय तह कम हुँदा र ठूला बनाउँदा घरदैलोको छेउमा भन्दापनि सेवा लिन झन टाढा धाउनुपर्ने बाध्यतामा कास्कीबासी छन् ।

कास्कीमा कम स्थानीय तह हुँदा समस्या आएको नागरिकस्तरबाटै बताइने गरेको छ । तर यसलाई दलहरुले खासै चासो दिएको नपाइएपनि गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य श्रीनाथ बरालले यो एजेण्डा उठाएका छन् ।

उनले आफू निर्वाचित भए कास्कीमा स्थानीय तह विभाजन गर्ने उद्घोष गर्दै शासन व्यवस्था अनुरुपको सेवा प्रवाह जनतामा पु¥याउने बताए । पोखरा महानगरमा पछि थपिएका वडाको भूगोल ठूलो हुँदा सेवाग्राही समस्यामा रहेको भन्दै उनले पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्याउनुपर्ने उद्घोष गरे ।

राज्यको पुन संरचना जनताको घरदैलोमा सेवा दिन गरिएको उनले स्मरण गराएका छन् । ‘राज्यको पुनसंरचना जनतलाई घरदैलोमै सेवा दिन गरिएको हो’ उनले भने, ‘कास्कीमा स्थानीय तह कम हुँदा सुविधा लिन नै टाढा धाउनुपर्ने बाध्यता छ । यस अगाडिका जनप्रतिनिधिले यस विषयमा जनताको आवाजलाई सुन्ने प्रयास गरेनन् । अब मलाई जनताले मत दिएर जिताउनुभयो भने दलहरुलाई कन्भिन्स गरेर कास्कीमा स्थानीय तह थप्नेछु । जनतालाई राज्य पुनसंरचना अनुरुपको सुविधा प्रदान गर्नुपर्छ । केन्द्रमा रहेर मैले यो एजेण्डा उठाउँदै पुरा गराई छाड्नेछु ।’

उम्मेदवार बरालले पोखराको वडा नम्बर २१ को उदाहरण दिँदै त्यहाँका जनताले वडा ठूलो हुँदा र भेग नमिल्दा परेको अप्ठ्यारो आफूले गहिरोगरी महसुस गरेको बताए । यस्तै समस्या ग्रामिण वडाले भोग्नु परेको उनले सुनाएका छन् । २१ नम्बर वडालाई दुई वटा वडामा विभाजित गर्नुपर्ने बताएका उनले पोखरा महानगरपालिकाबाट लेखनाथलाई छुट्याइनु पर्ने उद्घोष गरेका छन् ।

राज्य पुन संरचना गर्दा कास्कीमा जम्मा पाँच वटा स्थानीय तह बनाइएको छ । रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका छन् भने पोखरा महानगरपालिका रहेको छ । पोखरा महानगरपालिकाको क्षेत्रफल नै चार सय ६४.२५ बर्गकिलोमिटर रहेको छ । पोखरा महानगर देशकै सबैभन्दा धेरै क्षेत्रफल रहेको महानगर हो ।