कास्कीमा सात बर्षसम्म बनेन पुल

प्रकाश ढकाल
पोखरा, बैशाख १० ।
ठेकेदारको लापरबाही र सरकारको निरिहताले कास्कीमा एउटा मोटरेवल पुल ठेक्का सम्झौता गरिएको ७ बर्षसम्म पनि बनेको छैन । कास्कीको घुम्ले स्थित मादी नदीको ७३ मिटर लामो पक्की मोटरेवल पुल बनाउनका लागि २०६९ साउनमा काठमाण्डौंको लोकप्रिय शंकरमाली जेभीलाई ठेक्का दिईयो । ३० महिना म्यादभित्र कम्पनीले काम नै सुरु नगरेपछि २०७२ माघमा पुलको म्याद थपियो ।

थपिएको ६ महिनामा पनि काम नभएपछि पुनः अर्को ६ महिना थपेर २०७३ माघसम्म काम सक्न ताकेता गरियो । पछिल्लो पटक म्याद थपिएको पनि ४ बर्ष पूरा भैसक्यो तर पुल उठेन । ठेकेदारको चरम लापरबाहीका कारण समयमा पुल नबनेको डिभिजन सडक कार्यालय पोखराको आरोप छ । ‘२ पटकसम्म म्याद थपियो । कयौं पटक ताकेता पनि गरिएको छ । काम नै नगरेपछि ४ बर्षदेखि म्याद थपिएको छैन, कार्यालयका निमित्त प्रमुख पवित्रमणी आचार्यले भने–अव काम सकेपछि मात्रै भुक्तानी दिने हो । त्यसमा पनि अधिकतम जरिवाना लिन्छौं ।’

समयमा काम नगरे सरकारले सम्झौता रकमको १० प्रतिशत सम्म जरिवाना लिन पाउने ब्यवस्था छ । पुल नबनाउने ठेकेदारबाट पनि ४० लाख रुपैयाँ जरिवाना लिईसकेको आचार्यले बताए । ‘४० लाख रुपैयाँ हर्जना तिर्नुपर्छ । त्यो कटाएर मात्रै भुक्तानी दिने हो–उनले भने ।’

समयमा पुल नबनेपछि २०६९ सालमै स्थानीय भेला भएर दवाव समिति गठन गरेका थिए । ‘त्यति ठूलो बजेट आउँदा खुशी लागेको थियो । निर्माण सम्झौता भयो भन्ने सुन्यौं । महिना वित्यो, बर्ष बित्यो । बाटो हेर्दाहेर्द ठेकेदार आएन, उनले भने–केही उपाय नलागेपछि दवाव समिति बनायौं । कहिले कार्यालय धाउने कहिले ठेकेदार भेट्ने गरेरै अहिलेसम्म बित्यो । बल्लबल्ल काम थालेको छ । अझै ढुक्क हुने अवस्था छैन ।’

कालिका–माझठाना हुँदै घुम्लेबाट मिजुरेडाँडादेखि लमजुङसम्म जोड्ने सडकमा बन्ने यो पुलको निकै ठूलो रणनीतिक सम्बन्ध छ । पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या परेको मिजुरेडाँडाका ओमप्रकाश गुरुङले बताए । ‘पुल बन्छ भन्ने सुनेको पनि बर्षौं भैसक्यो । आधि काम सकियो भन्छ तर पूरा होला भन्ने विस्वासै छैन, उनले भने–त्यो भन्दा पछि सुरु भएको पुल बनेर पनि गाडी कुद्न थालिसक्यो । यसको अत्तोपत्तो छैन । सरकारी सम्पत्ति यसरी दुरुपयोग हुँदा यो क्षेत्रकै बदनामी भैरहेको छ ।’

पुल बनेपछि कास्कीको माझठाना, भाचोक, मिजुरेडाँडा, सैमराङ साथै लमजुङको पसगाउँ, भोँजेसम्मका नागरिकलाई सहज हुन्छ । घुम्ले नजिकै भगवति टारमा पनि पक्की पुल बनिसकेको छ । त्यस क्षेत्रका स्थानीयहरु अहिले यही पुल भएर आवतजावत गर्दै आएका छन् ।

पुल बनाउने ठेकेदार सम्पर्कमै नरहेको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले बताए । ‘कहिले फकाए झैं गरेको छु । थर्काएजस्तो पनि गरेको छु । बर्खा लागिसक्यो ठेकेदार टसमस गर्दैन । बल्ल बल्ल ल्याएर सुरु गरेजस्तो गरेको थियो । फेरि सामान छैन भनेर रोकिएछ, उनले भने–अहिले त ठेकेदार सम्पर्कमै आउँदैन । ठेक्का तोडौं भने पनि नेपालको प्रक्रिया उत्तिकै लामो छ । फलो अप गरिरहेको छु । ठेकेदारले रुवायो । जवरजस्ती गर्न पनि नमिल्ने । साह्रै अप्ठेरो भो ।’ गाउँपालिकाले निरन्तर ताकेता गरिरहेको गुरुङले बताए ।

न खोलामा पुल, न खातामा पैसा

ठेकेदारले कहिलेकाहीँ बर्खा लागेपछि सामान लगेर थुपार्ने र काम गरेजस्तो मात्रै गरेर पटक पटक बजेट निकासा लिएको खुलेको छ । पुल निर्माणको काम आधा पनि नसकिँदा ठेकेदारले करिब ४ करोड रुपैयाँ भुक्तानी पाईसकेको छ । ५ करोड ९ लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीलाई कार्यालयले पटक पटकको मितिमा ३ करोड ७५ लाख रुपैयाँ निकासा दिएको छ ।

सम्झौता अनुसार अव १ करोड ३४ लाख रुपैयाँ मात्रै पाउन बाँकी छ । त्यसमा पनि अधिकतम जरिवाना लिँदा १ करोड पनि बाँकी रहँदैन । तर भुक्तानी अनुसारको काम भने फिल्डमा छैन । हालसम्म पुलको आधा भाग पूरा भएको छ भने आधा भागको काम भर्खरै सुरु गरिएको छ । सडकले पनि काम पूरा नभएसम्म बाँकी रकम नदिने बताएको छ ।

‘पुल बनाउदा घर घडेरी सकियो’

ठेकेदारले २०६९ मै सम्झौता गरेपनि २०७२ पछि मात्रै कन्ट्याक्टरलाई जिम्मा दिएर काम थालेको हो । तनहूँस्थित दुलेगौडाका सुनिल थापालाई ०७२ पुसमा कामको जिम्मा दिईएको देखिन्छ । त्यसपछि थापाले काम सुरु गरेका हुन् । तर पुलको काम अझैपनि सकिएको छैन ।

‘आधा काम अघिल्लो बर्ष नै सकियो । अर्को आधा पनि जाली बुनेर राखेका छौं । आवश्यक मेटेरियल पाए यो महिनाभित्रै ढलान हुन्छ, कामको जिम्मा पाएका धिरेन्द्र रानामगरले भने–यो बर्षमा पुलको काम जसरी पनि सकिन्छ । तर मुख्य ठेकेदारले समयमा पैसा नदिँदा समस्या परिरहेको छ ।’ पुलको ठेक्का लिएपछि ब्यक्तिगत १ करोड भन्दा बढी ऋण लागिसकेको उनले सुनाए । मुक्तिनाथ विकास बैंकमा घरबारी र खेत धितो राखेर ऋण निकालेको राना बताउँछन् ।

‘केही आम्दानी होला भनेर पो काम गर्ने हो । सरकारको काम गरेपछि उल्टै घर घडेरी बेच्नुप¥यो, उनी भन्छन्–चाउथेको घडेरी बेचेर सकियो । दुलेगौंडाको घर र नजिकै रहेको खेत बैंकमा राखेर ऋण निकालेको छु ।’ ठेकेदारले आफ्नो समस्या नबुझेको उनको गुनासो छ । १ लाख रुपैयाँ हाल्दिनु भन्दा पनि मान्दैनन् । न सिमेण्ट दिन्छ, न रड पठाउँछ, उनले भने–थुम्सीकोट आफ्नै गाउँ भएर छोड्न सकिन । घर घडेरी बेचेर काम गरिरहेको छु । कुरा गर्दा पनि रुन मन लाग्छ । जहान परिवारले नै छोडेर जाने अवस्था बनिसक्यो ।’

समयमा सामान पाए यो बर्ष जसरी पनि काम पूरा गर्ने उनको प्रतिबद्धता छ । तर यस बिषयमा बुझ्न सम्पर्क गर्दा मुख्य ठेकेदार सम्पर्कमै आउन चाहेनन् । ठेकेदारको तर्फबाट केही समय फिल्डमा खटिएका इञ्जिनियर खेमराज विक चाहीँ यो बर्ष काम पूरा हुने बताउँछन् । ‘अहिले मैले हेरेको त छैन । तर निरन्तर सम्पर्कमा छु, उनले भने–यो बर्ष काम सकिन्छ । सामान पठाउने तयारी भैरहेको छ ।’ मुख्य ठेकेदार सुनिल कार्कीको मोवाईल स्विच अफ छ भने अर्का ठेकेदार हेमराज गुभाजुले पटक पटक सम्पर्क गर्दा समेत फोन उठाएनन् ।

कालोसूचीमा ठेकेदार

पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी मध्ये लोकप्रिय निर्माण सेवालाई सरकारले कालो सूचीमा राखेको थियो । ठेक्का मात्रै ओगट्ने र काम नगर्ने प्रबृत्तिका कारण धेरै ठेकेदार कम्पनी अहिले सरकारको निगरानीमा छन् । कालो सूचीमा परेको ठेकेदार कम्पनीले घुम्ले पुल बनाउने जिम्मा पाएपछि यो काम पनि पूरा हुनेमा स्थानीयको आशंका छ । ‘कम्पनी नै क्रोनिक हो । न लेजर छ । न अरु डकुमेण्ट छ, एक इञ्जिनियर भन्छन्–काम गर भनेर बोलायो भने ठेकेदार सम्पर्कमा आउँदैन । काम सकिने कुरामा यसै भन्न सक्ने अवस्था छैन ।’