कास्कीमा मान्छे मारेको आरोपमा बाउ छोरै प्रहरी खोरमा, दीलबहादुरको हत्यामा ३ जना पक्राउ

पोखरा, पुस १६ ।
एकसाता अघि कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुखु स्थित मोदीखोलामा शंकास्पद लास भेटियो । पहिचान नै नहुने खालको शव चोटैचोट थियो । प्रहरीलाई शंका लाग्यो र अनुसन्धान सुरु गर्यो ।

खोज्दै जाँदा शव चाहीँ पर्वतको मोदी गाउँपालिका २ देउपुर स्थायी घर भएका ७३ बर्षिय दीलबहादुर सार्कीको रहेको पत्ता लाग्यो । त्यसपछि प्रहरीले शंकास्पद ब्यक्तिमाथी निगरानी बढायो ।

प्रारम्भीक अनुसन्धानमा उपस्थित गाउँलेमध्ये अन्नपूर्ण १० क्ल्यु बस्ने ३१ बर्षिय बुद्धीमान सार्कीको गतिविधि शंकास्पद लाग्यो । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढायो ।

त्यसपछि सार्कीले आफ्नो कसुर स्विकार गरे । उनले आफुँ सहित आफ्ना बाबु ६० बर्षिय निमबहादुर सार्की र माइलो बाबु ७२ बर्षिय लालसिं सार्की समेत घटनामा संलग्न रहेको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ ।

पुस ८ गते साँझ तीनै जना मिलेर दीलबहादुरको हत्या गरेको स्विकार गरेका छन् । मृतकले आफुँहरुलाई अपशब्द प्रयोग गरेर गाली गरेपछि हत्या गरेको बताएका छन् । हत्याराहरुले रक्सी पिएको र त्यही बेला हत्या भएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।