कास्कीमा भलिवल खेल्दा विवाद भएपछि गाउँलेमाथी कुटपिट, ६ जना पक्राउ

पोखरा, कार्तिक ५ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका १ मिर्साका ६ जनालाई कुटपिटको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । दशैंको टिका भोलिपल्ट शनिबार स्थानीय हिमाली आधारभुत विद्यालयमा भएको मैत्रीपुर्ण भलिवल खेलमा सामान्य विवाद भएपछि झडपको अवस्था सिर्जना भएको थियो ।

रुम्जा र मिर्सा गाउँका खेलाडीबीच भएको विवादमा खेल सकिएपछि साँझ रक्सी पिएर मिर्साका युवाहरुले रुम्जा गाउँकी चन्द्रकुमारी पुन, धनबहादुर मगर, आनन्दकुमार पुन, सुजन पुनमाथी लाठी हानेका थिए ।

त्यसपछि सार्दीखोला प्रहरी चौकीबाट खटिएको टोलिले छानविन गरि माछापुच्छ्रे १ मिर्साका ३० बर्षिय खजना गुरुङलाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा गएको टोलिले थप ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिर्साका २० बर्षिय विधान गुरुङ, २४ बर्षिय दले गुरुङ, २५ बर्षिय लक्ष्मण गुरुङ, २२ बर्षिय उमेश गुरुङ र ३० बर्षका हिमाल गुरुङ छन् । उनीहरुमाथी थप अनुसन्धान चलिरहेको छ ।