कास्कीमा बर्ड फ्लू देखिएपछि बाहिरबाट कुखुरा ल्याउन नपाईने
पोखरा, चैत ५ ।
कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ याङजाकोटकी सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि पठाईएकोमा बर्डफ्लु पोजिटिभ देखिएको जिल्ला बर्डफ्लू रोग नियन्त्रण कक्ष कास्कीका इन्चार्ज केदारराज पाण्डेले जानकारी दिए । बर्डफ्लू प्रमाणीत भएपछि कार्यालयले त्यस क्षेत्रका कुखुरा मार्न थालेको छ ।
पहिलो चरणमा ७७ वटा स्थानीय जातका कुखुरा, ८५ वटा अण्डा, ३५ किलो दाना र १० किलो सुली नष्ट गरिएको पाण्डेले बताए । परियारले पालेको गिरिराज कुखुरामा बर्डफ्लु देखिएको थियो । पछि त्यही फ्लू अन्य कुखुरामा पनि सरेको उनको भनाई छ । अहिले कार्यालयले बर्डफ्लु लागेको क्षेत्रमा चार किल्ला तोकेर नियमित निगरानी बढाएको छ भने १० दिनसम्म आयात निर्यात पनि रोकिएको छ । कास्की भित्रिने दुईवटा नाकाहरु सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गमा चिकित्सक सहितको विशेष टोली खटाएर कुखुरा चेकजाँच गराईएको पाण्डेले जानकारी दिए । कार्यालयले चैत १४ गतेसम्म कुखुरा र कुखुराजन्य पदार्थ आयातमा रोक लगाएको छ ।
फागुनको पहिलो सातादेखि बर्डफ्लुको संक्रमण देखिएको पाण्डेको भनाई छ । फागुनको पहिलो साता नै बर्डफ्लुको शंका थियो । हामीलाई शंका लागेपछि स्याम्पल ल्याएर परीक्षणमा पठायौं, उनी भन्छन्–दुई पटकसम्म पठाउँदा पोजिटिभ देखियो । त्यसपछि अरु ठाउँको स्याम्पल पनि जम्मा गरेर पठाएका छौं ।’ उनका अनुसार बर्डफ्लुपछि नष्ट गरिएका कुखुरा र कुखुराजन्य पदार्थलाई चल्तीको मुल्यमा ७५ प्रतिशत अनुदान सरकारले उपलब्ध गराउनेछ ।
बर्डफ्लुको संक्रमण देखिएपनि कुखुराजन्य पदार्थ ओसारपसार नगर्ने निर्णय भएको कास्की पोल्ट्री ब्यवसायी संघका अध्यक्ष गुरु पौडेलले बताए । ‘हामीले छुट्टै अनुगमन समिति बनाएका छौं । १० दिन कुखुरा नभित्र्याउने हाम्रो सहमति छ, उनले भने–यो बेला सप्लार्यहरु सरसफाई गर्ने र औषधी उपचारमा क्रियाशिल हुन्छौं ।’