कास्कीमा नेविसंघको आन्दोलन–बुधबार सरकारी गाडी चल्न नदिने, २६ गतेदेखि स्कुल बन्द
पोखरा, माघ २२ ।
विद्यार्थी रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले कास्कीमा चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आन्दोलन अन्तर्गत बुधबार जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा छ । बुधबार नै ८ देखि १० बजेसम्म जिल्लाभरीका क्याम्पस अगाडी चक्काजाम र विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए ।
उनका अनुसार विहिबार पोखरा महागरको शिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कामकाज ठप्प पार्ने तथा शुक्रबार कालोपट्टी सहित प्लोकार्ड लिएर शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ । आफ्ना माग सुनुवाई नभए शनिबारदेखि अनिश्चित कालका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने नेविसंघले चेतावनी दिएको छ ।
मंगलबार नेविसंघका तीन केन्द्रिय सदस्यले संयुक्त विज्ञप्तीबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रममा केन्द्रिय सदस्यहरु ढकालसँगै गोपाल गुरुङ र देवकृष्ण पराजुलीले पनि हस्ताक्षर गरेका छन् । सार्वजनिक विदाका दिन चलाईएको भन्दै गएको शनिबार नेविसंघले पोखरा महानगरको गाडी जलाएको थियो । त्यसपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । २ जना छुटेपनि परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल प्रहरी हिरासतमा छन् ।