कास्कीमा नेकपा एकीकरण–एमालेलाई ५७ माओवादीलाई ४३

पोखरा, साउन ३१ ।
पार्टीको तल्ला तहमा एकीकरण प्रक्रियामा रहेको साविक नेकपा एमाले र माओवादी केन्द्र हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्कीमा अनुपात टुंग्याएको छ । कास्की जिल्ला र पोखरा महानगरमा एमाले र माओवादीबीच एकीकरणको सैद्धान्तिक प्रकृया टुंगिएको हो । बुधबार बसेको कार्यदलको बैठकले साविक एमालेलाई ५७ र साविक माओवादीलाई ४३ प्रतिशत सदस्य दिने गरी टुंगो लागेको एक सदस्यले जानकारी दिए ।

अनुपातमा एमालेले कास्कीमा ८८ र माओवादीले ६७ जना पठाउनेछ । महानगरमा पनि एमालेका ७१ र माओवादीका ५२ जना सदस्य रहनेछन् । देशका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विचमा गएको जेठ ३ गते पार्टी एकता भएको थियो ।

नेकपा गठनपछि तीन महिनाभित्रमा सवै तहको पार्टी कमिटि एकिकरण गरिसक्ने उद्घोष गरेपनि स्थानीय पार्टी कमिटिहरु एकिकरण प्रकृया भने कछुवाको गतिमा अघि वढेको छ । जनवर्गिय संगठनको पनि हालत उस्तै छ । चामत्कारीक रुपमा पार्टी एकता गरेर सचिवालय र केन्द्रीय कमिटि गठन भएपनि तल्ला कमिटिको एकीकरणमा नेताहरु उदासिन वन्दा स्वयम् सरकार र पार्टीका कामहरु प्रभावित भएको टिप्पणी नेकपाभित्रै गरिएको छ ।

पछिल्लो पटक दुई अध्यक्षले भदौ ३ गतेभित्र तल्लातहका साविकका दुई पार्टीका कमिटिहरु एकीकरण गर्न विशेष सर्कुलर जारी गरेसँगै एकीकरणलाई चासोका साथ हेरिएको छ । पार्टी विधान र कार्यविधिमा साविक एमालेले अध्यक्ष पाएमा सचिव माओवादी केन्द्रले र माओवादी केन्द्रले अध्यक्ष पाएमा सचिव एमालेबाट हुने भन्ने व्यवस्था छ ।

नेकपाले कास्कीमा सदस्य टुंग्याएपनि पदाधिकारीको टुंगो भने लगाउन सकेन । यसको मतलव कास्कीबाट कुनैपनि पद सर्वसम्मत भएन । कास्कीमा एमाले र माओवादी दुवैले अध्यक्षको दावी गरेका छन् । एमालेले जिल्ला सहित महानगरमा पनि दावी गरिरहेको छ । साविक एमाले कास्कीका अध्यक्ष तथा सांसद कृष्ण थापाले सदस्य टुंगिएपनि पदाधिकारीमा आ–आफ्नै अडान कायम रहेको बताए ।

‘वहाँहरु जिल्ला नछोड्ने भन्नुहुन्छ । हामी पनि जिल्ला र महानगर साविक एमालेलाई दिनुपर्ने माग गरिरहेका छौं, उनले भने–जिल्लामा सर्वसम्मत नभएपछि अनुपात मिलाएर केन्द्रमा पठाएका छौं ।’ उनले सहमतिमै कमिटी गठन हुने बताएका छन् ।

माओवादी केन्द्रका बखानसिंह तमुले पनि दुवैतर्फबाट अध्यक्षमा दावी कायम रहेको बताए । ‘दुवै पक्षले अध्यक्ष छोडेका छैनन् । माथिल्लो कमिटीसँग पनि समन्वय गरेर मिलाउने हो, उनले भने–नेतृत्व नटुंगिएपनि कमिटी फर्मेसन हुने भयो । अव काम रोकिँदैन ।’ उनले माओवादी केन्द्रका तर्फबाट पदाधिकारीका सबैले जिम्मेवारी पाईसकेको भन्दै आँफूमात्रै बाँकी रहेकोले आफ्नो दावी रहेको बताए ।

साविक एमालेको तर्फबाट कृष्ण थापाको दावी छ । तर जनप्रतिनिधीलाई कार्यकारी पद नदिने नेकपाको केन्द्रिय निर्णय भएकोले उनी अध्यक्ष बन्ने कि नबन्ने अन्यौल छ । साविक सचिव दामोदर बैरागीले पनि दावी गरेका छन् । अर्का नेता तेजनारायण अधिकारीको पनि दावी छ ।