कास्कीमा निर्वाचन अधिकृतको कार्यालय तोकियो (कुन क्षेत्रको कहाँ)

पोखरा, कार्तिक ८ ।
आगामी निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय तय गरिएको छ । कास्की क्षेत्र १ को उपत्यका नगर विकास समिति, २ डिभिजन सहकारीको कार्यालय र ३ को जिल्ला समन्वय समितिको कार्यालय तय गरिएको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना हुँदैछन् । जिससमा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र ३ को निर्वाचन गराउनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १८ र निर्वाचन अधिकृतको कार्यालयमा १६ कर्मचारी खटिने छन् ।
निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमको तयारी पनि तीव्र पारेको छ । जिल्लाका ३ सय १७ मतदान केन्द्रमा स्वयंसेवकले नयाँ दर्ता भएका मतदाताको फोटोसहितको मतदाता परिचयपत्र वितरण गर्नेछन् । मतदाता शिक्षा एक महिनासम्म चल्नेछ । यस्तै आवश्यक सुरक्षाका लागि विभिन्न मतदान स्थलको अनुगमन तथा निरीक्षण भइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।
मुलुकका कुल ७ प्रदेशबाट प्रतिनिधि सभाका लागि २ सय ७५ जना र प्रदेश सभाका लागि ५ सय ५० जना सदस्य निर्वा्चित हुँदैछन् । तीमध्ये प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकमा १ सय १० तथा प्रदेशतर्फ प्रत्यक्षमा ३ सय ३० र समानुपातिबाट २ सय २० सदस्य छानिनेछन् । प्रदेश ४ मा भने प्रतिनिधि सभातर्फ १८ जना प्रत्यक्ष र प्रदेश सभाअन्तर्गत प्रत्यक्षमा ३६ र समानुपातिकमा मात्र २४ जना छनोट हुनेछन् । कास्कीमा प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ ३ जना र प्रदेशतर्फ प्रत्यक्षमा ६ जना सदस्य निर्वा्चित हुनेछन् । प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रअनुसार फरक फरक मतपत्र हुनेछ भने समानुपातिकतर्फ प्रदेश ४ को एउटै मतपत्र हुनेछ ।
मतदाताले ४ ठाउँमा स्वस्तिक छाप लगाउनुपर्नेछ । दोस्रो चरण अन्तर्गत कास्कीमा मंसिर २१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान कार्यतालिका तोकिएको छ । कास्कीको मतगणना नगर प्रशिक्षण केन्द्र, पोखरा सभागृह र जिससमा हुने जनाइएको छ । चुनावका लागि जिल्लामा दलहरुले पनि उम्मेदवार नामावलीको अन्तिम टुंगो लगाउने कसरतमा छन् । मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनको लागि गत आइतबार भने देशका ३२ जिल्लामा ८ सय बढीको उम्मेदवारी दर्ता भएको छ ।