कास्कीमा जनप्रतिनिधिबाटै तस्करी–छानबिनका लागि कार्यदल गठन

पोखरा, पुस १० ।
नदीजन्य पदार्थ तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको अध्यक्षमा वडा नम्बर ६ का वडाध्यक्ष नारायण गुरुङ, सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष रामजी अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष दीपककुमार आले र गाउँपालिकाका प्राविधिक प्रमुख वीरेन्द्र तिवारी र खरिद शाखा प्रमुख रामचन्द्र पौडेल छन् ।

रुपा गाउँपालिका-७, कुनाको मुख (मादीखोला) घाटबाट अवैध रूपमा ढुंगा, बालुवा र गिटी कारोबार गरिरहेको तथ्य फेला परेपछि त्यसबारे छानबिन गर्न समिति गठन गरेको गाउँपालिका प्रमुख नवराज ओझाले जानकारी दिए । उनले भने, ‘नवगठित कार्यदलले छानविन गर्छ । त्यसैले बुझाएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्छ ।’ समितिले १५ दिनभित्र प्रतिबेदन बुझाउने छ ।

जनप्रतिनिधि नै बालुवा, ढुंगा, गिट्टीजन्य पदार्थ तस्करीमा संलग्न रहेको पाइएपछि गाउँपालिकाले शनिबार स्पष्टीकरण बैठक बोलाएको थियो । जसमा घटनामा संलग्न वडासदस्य मोती श्रेष्ठको समूह उपस्थित भएको थिएन । मोती श्रेष्ठले भने आफूलाई कुनै जानकारी नआएकाले बैठकमा सामेल नभएको दाबी गरेका छन् ।

पटकपटक टेन्डर आह्वान गर्दा पनि नपरेपछि बुधबार गाउँपालिका प्रतिनिधि र सरोकारवाला निकाय रुपा– ७ मा पर्ने खोकटे, दुवाचौर, कुनाकोमुख, मादबेशी, कोइलानी क्षेत्रमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अनाधिकृत रुपमा सरकारी जग्गामै वडा सदस्य मोती श्रेष्ठको समूहले करोडौं मूल्य बराबरको ढुंगा, माटो र बालुवा बेच्नका लागि तयारी अवस्थामा राखेको फेला परेको थियो ।

नदीजन्य पदार्थ अवैध तस्करी गरिरहेको समूहले लमजुङ घाटमा पहिल्यै खुलेको कागजपत्र देखाएर कुनाको मुखबाट कारोबार गरिरहेको अनुगमनकै क्रममा पाइएको हो । उनीहरुले लमजुङ मध्यनेपाल नगरपालिकामा खुलेको घाटको नामबाट ५ सय रोयल्टी देखाएर १८ सय रुपैयाँदेखि ३ हजारसम्म बालुवा, ढुंगा र गिटी पोखरा, दमौली लगायत क्षेत्रमा निकासी गरिरहेको तथ्य खुलेको हो ।

पहिले २ लाखमा टेन्डर जाने रुपा गाउँपालिका ३ वटा घाटबाट नदीजन्य पदार्थ असोजदेखि निकाल्न पाउनेगरी साउनमा टेन्डर आह्वान गरेको थियो । जसमध्ये वडा नम्बर १ को ७ लाख रुपैयाँ र वडा नम्बर ३ को घाट २७ लाख रुपैयाँमा टेन्डर परेको थियो ।

वडा नम्बर ७ को घाट गाउँपालिकाले ५ लाख रुपैयाँमा टेन्डर आह्वान गरेको थियो । तर त्यो घाटमा टेन्डर परेन । ‘त्यसपछि पटकपटक गरी ५ पटकसम्म टेन्डर आह्वान ग¥यौं । कसैले पनि टेन्डर हालेनन्,’ रुपा गाउँपालिका प्रमुख नवराज ओझा भन्छन्, ‘अहिले छैटौं टेन्डरको तयारी गरिरहेका छौं ।’

उक्त अनुगमन टोलीले कुनाको मुखबाट ५ थुप्रा बालुवा, ६ थुप्रा ढुंगा सिलबन्दी गरेको थियो । ‘अनुमानित २ सय ५१ घनमिटर बालुवा र १ सय ४५ घनमिटर ढुंगा यहाँबाट सिल गरेका छौं,’ इन्जिनियर वीरेन्द्र तिवारीले भने । उनले मादीबेशी क्षेत्रबाट ६३ घनमिटर बालुवा र ३ घनमिटर ढुंगा सिलबन्दी गरिएको जानकारी दिए ।

‘कोइलानी क्षेत्रका २ थुप्रो बालुवा र २ थुप्रो ढुंगा पनि सिल गरेका छौं,’ प्राविधिक वीरेन्द्रले भने, ‘त्यहाँबाट ७२ घनमिटर बालुवा र १२ घनमिटर ढुंगा बरामद भएको छ ।’ कार्यपालिका बैठकले निर्णय नगर्दासम्म नदीजन्य पदार्थ ओसारपसारमा रोक लगाइएको वडाध्यक्ष ओझाले जानकारी दिए ।–विकास रोका मगरले यो समाचार लेखेका हुन् ।