कास्कीमा जनप्रतिनिधिबाटै तस्करी, बैठकमा आउँदैनन् वडा सदस्य

पोखरा, पुस ७ ।
नदीजन्य पदार्थ तस्करीबारे गाउँपालिकाले शनिबार डाकेको स्पष्टीकरण बैठकमा वडा सदस्य मोती श्रेष्ठको समूह उपस्थित नभएको रुपा गाउँपालिका प्रमुख नवराज ओझाले जानकारी दिएका छन् । मादी गाउँपालिका ७, कुनाको मुख (मादीखोला) घाटबाट अवैध रुपमा ढुंगा, बालुवा र गिटी कारोबार गरिरहेको तथ्य फेला परेपछि ओझाले स्पष्टीकरणका लागि बैठकमा बोलाएका थिए ।

‘वडा सदस्यको समूह बैठकमा सहभागी भएन । अब आइतबार अर्को कार्यपालिकामा उहाँहरुलाई बोलाउँछौं,’ गाउँपालिका प्रमुख ओझाले भने, ‘त्यसबेला हामी पत्र लेखेरै बोलाउनेछौं ।’ उनले रुपा–७ का जनप्रतिनिधि उपस्थित नभए पनि लमजुङ मध्येनेपाल नगरपालिकाका केशबहादुर गुरुङको टोली भने उपस्थित भएको जानकारी दिए ।

प्रमुख ओझाले गुरुङको समूहसँग शनिबार नै बयान लिइसकेको जनाए । ‘उहाँहरुसँग हामीले थुपारिएको बालुवा र कारोबारबारे बयान लिइसक्यौं,’ उनले भने, ‘उनीहरुले सबै माल उतैको हो । यताकाले उनीहरुसँग किनेर बेचिरहेको भन्ने कुरा गरेका छन् ।’ उनी अर्को कार्यपालिका बैठकले गरेको निर्णय अनुसार कामकारबाही अघि बढ्ने बताउँछन् ।

‘कार्यपालिकाको बैठकले एउटा कार्यदल बनाउँछ । त्यसैले दिएको रिजल्ट अनुसार हामी अघि बढ्छौं,’ प्रमुख ओझाले भने । कुनाको मुख घाटको ढुंगा, बालुवा र गिटी अवैध रुपमा बेचबिखन गर्न राखिएको अवस्थामा बुधबार गाउँपालिका प्रतिनिधि, प्राविधिक तथा अन्य सरोकारवाला निकायले कारोबारीको कागजपत्र नियन्त्रण लिनुका साथै ओसारपसारमा रोक लगाएका थिए । यसबारे समाचार प्रकाशन गरेको थियो-जनप्रतिनिधिबाटै तस्करी ।

पटकपटक टेन्डर आह्वान गर्दा पनि नपरेपछि बुधबार गाउँपालिका प्रतिनिधि र सरोकारवाला निकाय रुपा – ७ मा पर्ने खोकटे, दुवाचौर, कुनाकोमुख, मादबेँसी, कोइलानी क्षेत्रमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अनाधिकृत रुपमा सरकारी जग्गामै वडा सदस्य मोती श्रेष्ठको समूहले करोडौं मूल्य बराबरको ढुंगा, माटो र बालुवा बेच्नका लागि तयारी अवस्थामा राखेको फेला परेको थियो ।

नदीजन्य अवैध तस्करी गरिरहेको समूहले लमजुङ घाटमा पहिल्यै खुलेको कागजपत्र देखाएर कुनाको मुखबाट कारोबार गरिरहेको अनुगमनकै क्रममा पाइएको हो । उनीहरुले लमजुङ मध्येनेपाल नगरपालिकामा खुलेको घाटको नामबाट ५ सय रोयल्टी देखाएर १८ सय रुपैयाँदेखि ३ हजारसम्म बालुवा, ढुंगा र गिटी पोखरा, दमौली लगायत क्षेत्रमा निकासी गरिरहेको तथ्य खुलेको हो ।

पहिले २ लाखमा टेन्डर जाने रुपा गाउँपालिका ३ वटा घाटबाट नदीजन्य पदार्थ असोजदेखि निकाल्न पाउने गरी साउनमा टेन्डर आह्वान गरेको थियो । जसमध्ये वडा नम्बर १ को ७ लाख रुपैयाँ र वडा नम्बर ३ को घाट २७ लाख रुपैयाँमा टेन्डर परेको थियो । वडा नम्बर ७ को घाट गाउँपालिकाले ५ लाख रुपैयाँमा टेन्डर आह्वान गरेको थियो । तर त्यो घाटमा टेन्डर परेन । ‘त्यसपछि पटकपटक गरी ५ पटकसम्म टेन्डर आह्वान र्गयौं । कसैले पनि टेन्डर हालेनन्,’ रुपा गाउँपालिका प्रमुख नवराज ओझा भन्छन्, ‘अहिले छैटौं टेन्डरको तयारी गरिरहेका छौं ।’

उक्त अनुगमन टोलीले कुनाको मुखबाट ५ थुप्रा बालुवा, ६ थुप्रा ढुंगा सिलबन्दी गरेको थियो । ‘अनुमानित २ सय ५१ घनमिटर बालुवा र १ सय ४५ घनमिटर ढुंगा यहाँबाट सिल गरेका छौं,’ इन्जिजियर वीरेन्द्र खनालले भने । उनले मादीबेंसी क्षेत्रबाट ६३ घनमिटर बालुवा र ३ घनमिटर ढुंगा सिल गरिएको जानकारी दिए ।

‘कोइलानी क्षेत्रका २ थुप्रो बालुवा र २ थुप्रो ढुंगा पनि सिल गरेका छौं,’ प्राविधिक वीरेन्द्रले भने, ‘त्यहाँबाट ७२ घनमिटर बालुवा र १२ घनमिटर ढुंगा बरामद भएको छ ।’ कार्यपालिका बैठकले निर्णय नगर्दासम्म नदीजन्य पदार्थ ओसारपसारमा रोक लगाइएको वडाध्यक्ष ओझाले जानकारी दिए ।–पत्रकार विकास मगरले नेपाल लाईभका लागि खवर लेखेका हुन् ।