कास्कीमा कुन उम्मेदवारले कहाँबाट भोट हाल्दैछन् ?

प्रकाश ढकाल
पोखरा, मंसिर २१ ।
आज केहीबेरपछि हुने मतदानमा कास्कीबाट कुन नेताको मतदान कुन केन्द्रमा छ ? जिल्लामा प्रतिनिधीसभा सदस्यका उम्मेदवार आफ्नै क्षेत्रमा आँफैलाई मत हाल्न पाएपनि प्रदेशसभा तर्फ केही उम्मेदवारले आँफैलाई मतदान गर्न पाउँदैनन् ।
प्रमुख दलबाट कास्की क्षेत्र नम्बर २ बाट प्रदेशसभाका लागि उम्मेदवार बनेका सबैजसो उम्मेदवार आँफैलाई मतदान गर्नबाट बञ्चित छन् । काँग्रेसका तर्फबाट क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाले आँफैलाई मतदान गर्नेछन् भने प्रदेशसभा (क) का दुवै उम्मेदवार र (ख) का बाम उम्मेदवार आफुलाई मतदान गर्न पाउँदैनन् ।
काँग्रेसका प्रदेश (क) उम्मेदवार गुरु बरालले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ आर्वाको रतनपाण्डे माविबाट मतदान गर्नेछन् भने एमाले अध्यक्ष समेत रहेका वाम गठबन्धनका साझा उम्मेदवार कृष्ण थापाले पोखरा १६ बाटुलेचौरको विन्ध्यवासिनी माविबाट मतदान गर्नेछन् । प्रदेश (ख) का वाम उम्मेदवार माओबादी कास्कीका ईन्चार्ज राजकाजी गुरुङको मतदाता नामावली पर्वतको पैयुँमा छ । उनी पनि आँफुलाई मतदान गर्नबाट बञ्चित हुनेछन् । यस्तै वाम गठबन्धनका साझा उम्मेदवार बनेका माओबादी नेता द्धय दीपक कोइराला र रामजी बराल जीवनले पनि आँफुलाई मतदान गर्न नपाउने उम्मेदवार हुन् । कास्की १ (क) का उम्मेदवार कोइरालाले पोखरा १४को रामेश्वरी माविमा मतदान गर्नेछन् यो प्रदेशसभा (ख) मा पर्छ । क्षेत्र नम्बर ३ (क) का उम्मेदवार बराल प्रदेश (ख) मा पर्ने पोखरा २२ पुम्दी स्थित महेश्वरी मावि केन्द्रको मतदाता हुन् ।
अरु उम्मेदवारहरु भाग्यमानी छन्, जसले आफ्ना लागि आँफैले पनि मतदान गर्न पाउनेछन् । कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्य उम्मेदवार काँग्रेस नेता यज्ञबहादुर थापाले पोखरा २६ को कालिका मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् भने २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले पोखरा ८ को जनप्रिय माविबाट मतदान गर्नेछन् । यस्तै ३ बाट उम्मेदवार बनेका शुक्रराज शर्माले अन्नपूर्ण गाउँपालिका ५ सल्यान स्थित शितला मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
बाम गठबन्धनतर्फ एमाले नेता तथा कास्की १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार खगराज अधिकारीले पोखरा ३१ के आनन्दज्योति माविबाट भोट हाल्दैछन् भने २ का उम्मेदवार रवीन्द्र अधिकारीले पोखरा ३३ भरतपोखरी स्थित शान्ति उदय माविबाट मतदान गर्दैछन् । यस्तै ३ का उम्मेदवार जगत विश्वकर्माले पोखरा १९ लामाचौर स्थित अकला प्राविबाट मत हाल्दैछन् ।
प्रदेशसभातर्फ काँग्रेसबाट उम्मेदवार बनेका कास्की क्षेत्र नम्बर १ स्थित प्रदेशसभा (क) का उम्मेदवार जीवन परियारले रुपा गाउँपालिका फल्याङकोटको जटेश्वर मावि, प्रदेशसभा (ख) का कृष्ण केसीले मादी ५ सिक्लेसको हिमालय आधारभुत विद्यालय, कास्की २ को प्रदेशसभा (ख) तर्फका उम्मेदवार विन्दुकुमार थापाले पोखरा ८ स्थित राम प्रावि, कास्की ३ को प्रदेश (क) कि उम्मेदवार शारदा पौडेलले पोखरा १ स्थित राष्ट्रिय मावि र (ख) का उम्मेदवार सिकन्दर गुरुङ (भोजे) ले पोखरा २३ भदौरेतामागी स्थित बहादुरे माविबाट मतदान गर्नेछन् ।
वाम गठबन्धनका तर्फबाट कास्की १ (ख) का उम्मेदवार मन बहादुर गुरुङ मादी १ सिक्लेसको अन्नपूर्ण मावि र कास्की ३ (ख) का उम्मेदवार राजीव पहारी पोखरा ६ बैदाम स्थित तालबाराही माविका मतदाता हुन् । उनीहरुले आफ्ना लागि मत खसाल्दैछन् ।