कास्कीमा कांग्रेसका निर्वाचन परिचालक नै नेकपा प्रवेश

पोखरा, मंसिर ३ ।
पोखरा महानगर पालिका वडा नम्बर १७ मा नेपाली कांग्रेसको निर्बाचन परिचालन गर्ने जिम्मा लिएका व्यक्ती नै नेकपा (नेकपा) प्रवेश गरेका छन् । पोखरा १७ को जानकी बुथका बुथ समिति सभापति तथा वडा नम्बर १७ निर्बाचन परिचालन समितिका सहसंयोजक नगेन्द्र शर्मा भण्डारीले कांग्रेस त्यागेको हुन ।

मंगलबार नेकपाको घर दैलो पछि आयोजित चुनावी सभामा नेकपा प्रवेश गरेको घोषणा गरेका शर्माले विद्या भट्टराई अधिकारीलाई विजयी बनाउन सकृय भएर लाग्ने बताए । दिवंगत नेता रविन्द्र अधिकारीको व्यक्तित्वबाट प्रभावित भएको बताउदै उनले विद्यामा पनि उहाँकै प्रतिविम्ब देखेकाले पार्टी मै प्रवेश गरेर साथ दिने प्रण गरेको बताए ।

‘म कांग्रेस कै प्रचारमा हिडेको बेलामा पनि भेट्नासाथ ‘ठिक छ ?’ भन्दै अंगालो हाल्नुहुन्थ्यो ।’ उनले रविन्द्रलाई सम्झदै भने–‘त्यस्तो आत्मिय नेता गुमायौं, अब उहाँले देखेको सपना पुरा गराउने अभियानमा जति सक्छु त्यति योगदान दिन्छु ।

स्थानीय व्यवसायी तथा समाजसेवीका रुपमा स्थापित नगेन्द्रले आफुसंग दुई सय भन्दा बढी शुभचिन्तकको साथ रहेको र उनीहरु पनि आफुसंगै नेकपा बनेको बताए ।

यस अघि मंगलबार नै वडा नम्बर १७ कै शितल चौतारीमा अयोजित कोण सभामा नेपाली कांग्रेसका कार्यकर्ता शुभाष रोकाय सहितका ४० जना नेकपा प्रवेश गरेका थिए ।