कास्कीमा काँग्रेसबाट कसले पाए टिकट ?

पोखरा, कार्तिक १५ ।
लोकतान्त्रीक गठबन्धनको तयारी गरिरहेको नेपाली काँग्रेसले मंगलबार क्षेत्र नम्बर १ को मात्रै उम्मेदवार टुंग्याएको छ । प्रतिनिधीसभामा कानुन मन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापा उम्मेदवार बनेका छन् । दुवै संविधानसभामा उम्मेदवार बनेका थापा २०६४ मा पराजीत बनेका थिए भने २०७० मा एमालेका उम्मेदवार मान बहादुर जिसीलाई पराजीत गरेका थिए । प्रदेशतर्फ (क) मा तिलक रानाभाट र (ख) मा जिल्ला सभापति कृष्ण केसी उम्मेदवार बनेका छन् । बाँकी उम्मेदवार बुधबारसम्म टुंगिने काँग्रेस श्रोत बताउँछ । श्रोतका अनुसार २ नम्बर क्षेत्रमा प्रतिनिधीसभाका लागि देवराज चालिसे वा सोभियत बहादुर अधिकारीमध्ये एकजना उम्मेदवार बन्नेछन् भने ३ नम्बरमा शुक्रराज शर्मा वा शारदा पौडेल उम्मेदवार बन्नेछन् । चालिसे र शर्मा उम्मेदवार बन्ने लगभग अन्तिम अवस्थामा पुगेको श्रोतको भनाई छ ।
प्रदेशतर्फ २(क) मा रंगिला आचार्य, (ख) मा नरेशशंकर पालिखे वा विन्दुकुमार थापा, ३ नम्बर क्षेत्रको (क) मा रामचन्द्र त्रिपाठी र (ख) मा मनोज गुरुङ उम्मेदवार बन्ने लगभग निश्चित छ । साना दलहरु पनि उम्मेदवार टुंग्याउने र गठवन्धनमा सघाउने तयारी गरिरहेका छन् ।