कास्कीमा एमाले–माओवादीको कार्यालय मर्ज

पोखरा, जेठ २६ ।
साविक एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला र प्रदेश तहका संगठनहरु पनि एकिकृत हुने क्रम सुरु भएको छ । शनिवार पोखरामा साविक दुई पार्टीका कार्यालयहरुलाई एउटै पार्टीको बोर्ड टाँसेर उद्घाटन गरिएको छ ।

साविक एमालेको कार्यालयलाई नेकपाको जिल्ला कार्यालयको रुपमा स्थापना गरिएको छ भने साविक माओवादी केन्द्रको कार्यालयलाई जिल्ला सम्पर्क कार्यालयको रुपमा परिमार्जन गरिएको छ । एकीकृत बोर्डको विशेष कार्यक्रमका बीच नेकपाका केन्द्रिय सदस्यहरु, सांसदहरु र नेताहरुले संयुक्त रुपमा अनावरण गरे । कार्यक्रमको सहजीकरण सांसद प्रभा कोइरालाले गरेकी थिईन् ।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता तथा साविक एमालेका जिल्ला अध्यक्ष कृष्ण थापाले पार्टीका तल्ला कमिटी एकीकरणको तयारी सुरु भएको जानकारी गराए । उनले दुई कमिटीलाई मर्ज गर्नका लागि प्रदेश र जिल्ला स्तरमा कार्यदल गठन भएको भन्दै उचित जिम्मेवारी सहित छिटै एकीकरण गर्ने बताए । थापाले आजदेखि कास्कीमा दुवै पार्टी र पार्टीगत संगठनका फरक बोर्ड नहरने घोषणा गरे ।

नेकपाका अर्का नेता साविक माओवादीका बखानसिंह गुरुङले विस्तारै पार्टी र जनवर्गीय संगठन एकीकरण गर्दै लैजाने धारणा राखे । नेतृत्वले ईच्छाशक्ति र आँट गरेर एकीकरण गरेपछि तल्ला तहमा पनि उत्साह आएको भन्दै उनले छिटै जिल्ला स्तरीय बृहत कार्यक्रम आयोजना हुने बताए ।