कास्कीमा एमालेलाई ६, माओबादीलाई ३ क्षेत्र (कहाँ को उठ्दैछन्)

पोखरा, कार्तिक १२ ।
आउँदो मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको प्रतिनिधीसभा र प्रदेशसभा चुनावका लागि एमाले माओबादी सम्मिलित बाम गठबन्धन यतिबेला क्षेत्र बाँडफाँड र उम्मेदवार टुंग्याउने चटारोमा छ । जसरी पनि आफैले बहुमत ल्याउने र स्थायी सरकार चलाउने दाउमा रहेको बाम एकता विभिन्न आधार तय गरेर क्षेत्र बाँडफाँड नजिक पुगेको छ ।
प्रतिनिधीसभा ३ र प्रदेशसभा ६ गरी ९ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा एमालेले माओबादीको भन्दा दोब्बर बढी ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । दुवै पार्टीका शीर्ष नेतृत्वको बैठकले कास्कीमा एमालेलाई ३ वटै प्रतिनिधीसभा र थप ३ वटा प्रदेशसभा दिने निर्णय गरेको छ भने माओबादीले प्रदेशसभा अन्तर्गतका ३ वटा क्षेत्र मात्रै पाउने भएको छ । यसअघि १ प्रतिनिधीसभा र २ प्रदेशसभा मागेको माओबादीले प्रदेशसभामा मात्रै चित्त बुझाएको हो ।
श्रोतका अनुसार माओबादीलाई क्षेत्र नम्बर १ (क), क्षेत्र नम्बर २ (ख) र क्षेत्र नम्बर ३ (क) दिईएको छ भने बाँकी सबै क्षेत्र एमालेले लिएको छ । क्षेत्र टुंगिएपछि यतिबेला माओबादीभित्र उम्मेदवार छनौट बढी चर्चाको बिषय बनिरहेको छ । माओबादीले क्षेत्र नम्बर २ (ख) मा पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङलाई उठाउने निर्णय गरेको छ भने बाँकी २ क्षेत्रमा छलफल भैरहेको छ । यद्यपी १ नम्बर क्षेत्रको प्रदेशतर्फ (क) मा झलकपाणी तिवारीलाई उम्मेदवार बनाउने बुझिएको छ । यो क्षेत्रमा जिल्ला अध्यक्ष दिपक कोइरालाको पनि दावी छ । तिवारीलाई समानुपातिकमा लगेर कोइरालालाई प्रत्यक्षतर्फको टिकट दिन सक्ने सम्भावना पनि छ ।
क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा (क) मा रामजी बराल लगभग टुंगिएका छन् । स्थायी कमिटिमा छलफल भैरहेकाले पार्टीको निर्णय लगत्तै उम्मेदवार सार्वजनिक हुने एक नेताले बताए ।
एमालेले भने प्रतिनिधीसभा सदस्यका लागि १ नम्बर क्षेत्रमा खगराज अधिकारी र २ नम्बरका लागि रवीन्द्र अधिकारीलाई सर्वसम्मत गरिसकेको छ भने ३ नम्बरमा जगत विश्वकर्मालाई उम्मेदवार बनाउने तयारी छ । प्रदेशसभा अन्तर्गत १ (ख) मा जिल्ल उपाध्यक्ष मनबहादुर गुरुङ, २ (क) मा अध्यक्ष कृष्ण थापा, ३ (ख) मा राजीव पहारी उम्मेदवार बन्ने लगभग टुंगिएको छ ।
लोकतान्त्रीक गठबन्धनबाट भने प्रारम्भीक खाका समेत बाहिरिएको छैन ।