कास्कीमा एउटै पुल दुईपटक शिलान्यास ? (के हो बास्तविकता ?)

पोखरा, पुस ४ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाा ९ स्थित आँपाको पुल दोश्रो पटक शिलान्यास हुँदैछ । एकमहिना अघि स्थानीय अगुवा तथा समाजसेवी रामहरी गुरुङले शिलान्यास गरेर काम सुरु भैसकेको पुलको शनिवार खेलकुद मन्त्री जगत विश्वकर्माले शिलान्यास गर्दैछन् ।

पुल शिलान्यास कार्यक्रमका लागि वडा नम्बर ९ को कार्यालयले पत्राचार गरिसकेको छ । तर यही पुल अघिल्लो महिना मंसिर ३ गते नै शिलान्यास भैसकेको गुरुङले दावी गरे । गुरुङले आफ्नै मेहिनत र प्रयासपछि पुलको योजना परेको भन्दै आँफैले शिलान्यास गरिसकेको बताएका छन् ।

‘गाउँपरिषद्बाट इलाका हुँदै जिल्ला परिषद्मा पु¥याएर योजना पास गरेको हुँ । मेरै आग्रहमा सडक डिभिजन कार्यालयबाट बजेट समेत परेर टेण्डर गरियो, उनले भने–टेण्डर परेपछि ठेकेदार काम गर्न आयो । मैले शिलान्यास गरेर काम सुरु गर्न लगाएँ ।’

चारबर्ष अघि नै जिल्ला परिषद्बाट पास भैसकेको पुलको योजना चालू बर्षदेखि कार्यान्वयनमा आउँदैछ । ‘पोहोर नै बन्नुपर्ने पुल हो । तर उचाई सानो भयो भनेर फेरि थपियो, उनी भन्छन्–सानो कामले गर्दा १ बर्ष लम्बिएको हो । बजेट पहिल्यै परेको हो । अहिले आँफुले गरेको देखाउन दुईचोटी शिलान्यास गर्न लागेका हुन् ।’

ठेकेदारले पुल निर्माणका लागि ठाउँ सम्याउने काम गरिरहेको छ । ‘ठेकेदारले काम थालिसक्यो । शिलान्यास नभएको भए काम हुन्थ्यो र ?, गुरुङ भन्छन्–मन्त्री ज्यू पनि बुझेर कार्यक्रममा आउनुपर्छ । बरु उद्घाटन गर्नुपर्ने झोलुङ्खे पुलहरु धेरै छन् । त्यही पुल उद्घाटन गरेर गए हुन्छ ।’

स्थानीय जनप्रतिनिधिहरुले गलत काम गरिरहेको उनको भनाई छ । तर वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले चाहीँ ब्यक्ति आतंकका कारण गलत म्यासेज बाहिर गएको बताए । ‘एउटा ब्यक्तिले खुसुक्क शिलान्यास गरेको कुरा कति आधिकारिक हुन्छ ? वडाध्यक्षलाई नै शिलान्यास भएको कुरा थाहा छैन, उनले भने– शिलान्यास गर्ने ठूलो कुरा होईन, पारदर्शिताको कुरा हो । वहाँको ब्यक्तिगत कुरा थाहा भएन ।’

उनका अनुसार भ्याट सहित ४ करोड ७१ लाख रुपैयाँमा पुल निर्माण हुन लागेको हो । २५ मिटर लामो र ११ मिटर चौडा पुल निर्माणको ठेक्का मृत संजिवनी निर्माण सेवाले पाएको छ ।