कास्कीमा उम्मेदवार टुंगिँदै, को–को परे (नामावली सहित)

प्रकाश ढकाल
पोखरा, कार्तिक १० ।
मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै कास्कीमा टिकट हात पार्न नेताहरुको चहलपहल केन्द्रमा बढेको छ । अधिकांश सम्भावित नेताहरु केन्द्रमा पुगेका छन् । सबै राजनीतिक दलका जिल्ला स्तरीय कमिटीबाट केन्द्रमा उम्मेदवार सिफारिस गरिसकेका छन् । अधिकांश दलले त्यसैलाई आधार मानेर उम्मेदवार टुंग्याउने बुझिएको छ भने केही दलमा उम्मेदवार दायाँबायाँ पनि हुन सक्छन् । ४ नम्बर प्रदेशको सबैभन्दा बढी निर्वाचन क्षेत्र भएकोले पनि कास्कीको चुनावले खास अर्थ राख्छ । कास्कीमा ३ प्रतिनिधीसभा र ६ प्रदेशसभाका लागि निर्वाचन क्षेत्र तोकिएको छ । बाम र लोकतान्त्रीक दुवै गठबन्धन कास्कीमा बलिया प्रतिश्पर्धी हुन् । यद्यपी टिकट कसले ल्याउँछ भन्नेमा पनि भर पर्छ । अहिले चर्चा र सबैको ध्यान उम्मेदवार को बन्छन् भन्नेमा केन्द्रित छ ।
जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा, नयाँशक्ति, संघीय समाजवादी फोरम लगाएतका दल बढी क्रियाशिल छन् । यद्यपी गठबन्धनका कारण सबै दल दुई धारमा समाहित हुने सम्भावना पनि बढी छ । त्यसो भएमा कास्कीमा उम्मेदवार पनि निकै कम हुनेछन् । माओबादी र एमालेबीच यसअघि नै चुनावी सहकार्य भएकाले दुवै दलले मिलेर उम्मेदवार प्रश्तुत गर्नेछन् । काँग्रेसमा पनि राप्रपा, नयाँ शक्ति लगाएतका दल मिल्न सक्ने सम्भावना छ । त्यसो भएमा बाम र लोकतान्त्रीक गठबन्धनका मात्रै उम्मेदवार हुन सक्ने सम्भावना पनि जीवितै छ । दोश्रो चरणमा चुनाव हुने जिल्लामा निर्वाचन आयोगले कार्तिक १६ गतेलाई मनोनयन गर्ने मिति तोकेको छ । त्यसका लागि उम्मेदवार टुंग्याउने तयारीमा दलहरुले निरन्तर कसरत गरिरहेका छन् । त्यसका लागि निर्वाचन कार्यालयले मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिसकेको छ ।
समग्रमा केही बलियो देखिएको बाम गठबन्धनले कास्कीमा तीनवटै प्रतिनिधीसभाका लागि एमालेबाट उम्मेदवार बनाउने तयारी छ भने दुईवटा प्रदेशसभाका निर्वाचन क्षेत्रमा चाहीँ माओबादीलाई सघाउने तयारी बुझिन्छ । यद्यपी नटुंगिएसम्म यसै भन्न सक्ने अवस्था छैन । कास्की १ मा खगराज अधिकारी, २ मा रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्माले टिकट पाउने अधिक सम्भावना छ । लोकतान्त्रिक गठबन्धनमा पनि १ बाट यज्ञ बहादुर थापा वा तारानाथ रानाभाट, २ मा गुरु वराल, शोभियतबहादुर अधिकारी र देवराज चालिसे मध्ये एक जना टिकटका दावेदार हुन् । ३ बाट शुक्रराज शर्मा वा शारदा पौडेल टिकटका लागि कसरत गरिरहेका छन् । महादेव गुरुङ पनि मुख्य दावेदार नै हुन् । उनलाई समानुपातिकमा लगेर शर्मालाई टिकट दिन सक्ने श्रोत बताउँछ । बाम गठबन्धनबाट माओबादीले पनि कास्कीमा प्रतिनिधी सभाका लागि एक सिटमा दावी गरेको सुनिन्छ ।
प्रदेशतर्फ बाम गठबन्धनले क्षेत्र नम्बर १ को (क) र २ को (ख) माओबादीलाई दिने बुझिएको छ । यो बिषयमा पनि छलफल भैरहेको माओबादी श्रोत बताउँछ । श्रोतका अनुसार माओबादीले २ नम्बरको (क) मागिरहेको छ । त्यसो भएमा एमाले अध्यक्ष कृष्ण थापा आफ्नै क्षेत्र अर्थात् २ को (ख) बाट चुनाव लड्न सक्छन् । बाम गठबन्धनले १ (क) मा माओबादीबाट झलकपाणी तिवारीलाई अघि सारेको छ । अर्का उम्मेदवार राजकाजी गुरुङले २ को (क) नछोड्ने बुझिएको छ । क्षेत्र नम्बर ३ मा माओबादी गए रामजी बराल ३ (ख) बाट उम्मेदवार बन्ने सम्भावना पनि छ । १ (ख) मा एमालेका मन बहादुर गुरुङ, २ (क) मा अध्यक्ष कृष्ण थापा, ३ (क) मा नारायण बास्तोला र (ख) मा राजीव पहारीलाई टिकट दिने बढी सम्भावना रहेको एमाले श्रोत बताउँछ ।
लोकतान्त्रीक गठबन्धनमा प्रदेशतर्फ निकै धेरै कसरत गर्नुपर्ने देखिएको छ । १ (क) र २ (ख) मा निकै धेरै बलिया आकांक्षी रहेकाले यो क्षेत्रमा टिकट कसले ल्याउँछ भन्ने अनुमान लाउन अझै कठिन छ । १ (क) मा बुद्धिमान गुरुङ र कोपीला रानाभाट टिकट नजिक छन् । (ख) मा जिल्ला सभापति समेत भएकाले कृष्ण केसीले टिकट ल्याउने कुरा बुझिएको छ । २(क) मा केशर निर्दोषी र क्षेत्रीय सभापति बिजयराज आचार्य अधिक अगाडी छन् । २(ख) काँग्रेसका लागि टिकट टुंग्याउन निकै कठिन छ । अझैपनि सबैजसो उम्मेदवारको पल्ला उत्तिकै छ । नरेशशंकर पालिखे, माधवप्रसाद बास्तोला, वीरेन्द्रनारायण बिजुक्छे, विन्दुकुमार थापा र सुनयना पालिखे उस्तै बलिया मानिन्छन् । नरेशको हकमा पार्टी केन्द्रिय कार्यालयमा अघिल्लो चुनावमा पार्टीलाई असहयोग गरेको उजुरी छ । यद्यपी पालिखेको सम्भावना प्रवल रहेको श्रोत बताउँछ । ३ नम्बर क्षेत्र (क) मा रामचन्द्र त्रिपाठी र (ख) मा तरुण दल अध्यक्ष मनोज गुरुङलाई टिकट दिने सम्भावना बुझिएको छ ।
यसअघि काँग्रेस कास्कीले डेढसय बढीको नाम केन्द्रमा सिफारिस गरेको थियो भने एमालेले प्रत्येक क्षेत्रबाट ३÷३ जनाको नाम सिफारिस गरेको थियो । खगराज र रवीन्द्र भने सर्वसम्मत सिफारिस भएका हुन् । माओबादीले पनि किस्ताबन्दीमा आफ्ना सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको थियो । नयाँ शक्तिले सबै क्षेत्रमा उम्मेदवार सिफारिस गरिसकेको छ । यद्यपी गोरखामा काँग्रेससँग सहकार्य भएकाले अन्य जिल्लामा पनि गठबन्धन हुने हो कि भन्ने बिषयमा अलमल छ ।
कास्की जिल्लामा कुल मतदाता दुई लाख ५५ हजार ४ सय ५६ रहेका छन् । तीमध्ये पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र चार जना तेश्रो लिङ्गी छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं ३ मा ८८ हजार ७१७ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकामा १५० मतदानस्थल र ३१७ मतदान केन्द्र कायम निर्वाचन कार्यालयले गरिएको छ ।