कास्कीको समानुपातिक मत पनि एमालेलाई धेरै

प्रकाश ढकाल
पोखरा, मंसिर २५ ।
मंसिर २१ गते भएको प्रतिनिधीसभा र प्रदेशसभा चुनावको समानुपातिक तर्फको मतगणना कास्कीमा जारी छ । हालसम्म प्रतिनिधीसभा तर्फ ३ वटै निर्वाचन क्षेत्रबाट ३३ हजार मत गनिसकिएको छ । त्यसमध्ये सबैभनदा धेरै एमालेको मत छ भने काँग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो स्थानमा छन् । चौंथोमा विवेकशील साझा पार्टी देखिएको छ । अघिल्लो चुनावमा समानुपातिक मत निकै राम्रो पाएको राप्रपाको यो चुनावमा खासै राम्रो मत देखिँदैन ।
एमालेले हालसम्म काँग्रेसको भन्दा ४ हजार ५ सय मत अगाडी छ । एमालेले १५ हजार ८ सय ४८ मत प्रतिनिधीसभाका लागि पाएको छ । काँग्रेसले ११ हजार ३ सय २५ मत पायो । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रको मत निकै कम छ । माओवादीले अहिलेसम्म २ सय ३ सय ९० मत मात्रै पायो । यसपटकको चुनावमा कास्कीबाट विवेकशील साझा पार्टीलाई राम्रै मत परेको छ । विवेकशीलले ९ सय ८३ मत पायो । राप्रपाको ४ सय ११ मत छ ।
प्रदेशसभा तर्फ ३३ हजार मत गनिसकिएको छ । प्रदेशसभामा पनि एमाले अगाडी छ । उसैगरी काँग्रेस दोश्रो, माओवादी तेश्रो र विवेकशील साझा पार्टी चौंथो स्थानमा छ । प्रदेशसभामा एमालेले १५ हजार १५ मत ल्याएको छ । काँग्रेसले १० हजार ७ सय ७० मत पाउँदा माओवादी केन्द्रले २ हजार ८ सय मत ल्यायो । उता विवेकशील साझा पार्टीले ७ सय ४० र राप्रपाले ४ सय ८३ मत पाएका छन् ।
प्रतिनिधीसभा तर्फ तीनवटै क्षेत्रमा ९ सय ३५ मत बदर भएको छ । प्रदेशसभा तर्फ १ हजार ७ सय ५० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।