कास्कीको मादी गाउँपालिकाको निर्णय–माला, खादा र अविर निषेध

पोखरा, साउन ८ ।
कास्कीको मादी गाउँपालिकाले फुलमाला, खादा र अविर निषेध गर्ने निर्णय गरेको छ । फजुल खर्च बढेको भन्दै गाउँपालिकाले अवदेखि तीनैचिज कुनैपनि कार्यक्रममा प्रयोग नगर्ने निर्णंय गरेको हो ।

‘आयातित फूलको माला भिरेर सान बढ्दैन । बरु जे छ गाउँकै उत्पादनको प्रबद्र्धन गर्दा राम्रो हुन्छ, गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले भने–मायाको चीनो गाउँकै दिने र माला पनि गाउँकै फूलबाट उनेर लगाईदिने निर्णय गरेका छौं ।’

गाउँपालिकाले यसका लागि कार्यविधि नै तयार गरेको छ । बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाले बनाएको सामाजिक सुधार तथा खर्च मितव्ययितासम्बन्धी कार्यविधि सोमबार सार्वजनिक गरेको हो । कार्यविधि साउन १ गतेदेखि नै सुरु भइसकेको छ ।

कार्यक्रममा हुने लम्बेनात आसन ग्रहण र भाषण गर्ने शैलीलाई पनि सुधार गरिने भएको छ । कार्यक्रम सञ्चालकले शुरुमा आसन ग्रहण गराउँदा मर्यादाक्रम अनुसार परिचयात्मक विवरण खुल्ने गरी सम्बोेधन गर्ने र पछिल्लो वक्ताहरुले सभा अध्यक्षलाई मात्र सम्बोधन गरेर आफ्नो भनाइ राख्नुपर्ने गाउँपालिकाले नियम बनाएको छ ।

एउटै क्षेत्र र पक्षका एक वक्ताले अर्को वक्ताको कुरा नदोहोराई आफ्नो भनाइ राख्नुपर्ने कार्यविधिमा छ । भाषण र वक्तव्य सकेसम्म लिखित वाचन गर्ने र छोटो तथा शिष्ट भाषामा हुनुपर्ने गाउँपलिकाले बनाएको कार्यविधिको शर्त छ ।