कास्कीको चुनाव–विगतमा कसले जिते कसले हारे (पढ्नुस् विस्तृतमा)

प्रकाश ढकाल
पोखरा, कार्तिक २५ ।
आउँदो मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधीसभा सदस्य चुनावका लागि कास्कीमा सवै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि दावेदारी प्रश्तुत गरेका छन् । उनीहरु यतिबेला चुनावी प्रचारमा ब्यस्त छन् । मतदाताहरुमा चुनावी नतिजाबारे आँकलन सुरु भएको छ । प्रचार र उम्मेदवारको ब्यक्तित्व हेरेर पनि सर्वसाधारणले जीतहारको अनुमान लगाईरहेका छन् । जिल्लाभर ९ पदका लागि राजनीतिक दल र स्वतन्त्र गरी ९५ जना उम्मेदवार छन् । प्रतिश्पर्धी दलमध्ये नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा छ भने एमाले र माओवादीबीच चुनावी तालमेल भएको छ । यसले पनि कास्कीमा चाहीँ आउँदो चुनाव बहुत प्रतिश्पर्धाका रुपमा हेरिएको छ । यो अवस्थामा धेरै मतदाताहरुलाई विगतका चुनावी नतिजाबारे जिज्ञासा पनि बढेको छ । हामीले विगतका चुनावलाई केलाउने प्रयास गरेका छौं ।
२०४८ देखि लगातार जसो चुनावी उम्मेदवार बनेका एमाले नेता खगराज अधिकारीको यो उम्मेदवारी पाँचौं पटक हो । कास्की क्षेत्र नम्बर १ मा ४ पटक एमालेबाट उम्मेदवार बनेका अधिकारी एक पटक मात्रै बिजयी भएका छन् । कास्कीका उम्मेदवार मध्ये सबैभन्दा बढी उम्मेदवार बनेका उनी नै हुन् । २०४८ सालको चुनावमा काँग्रेस नेता तारानाथ रानाभाटसँग पराजीत भएका उनी २०५१ को मध्यावधी चुनावमा उनै रानाभाटलाई पराजीत गरी बिजयी भएका थिए । त्यसपछि २०५६ मा भएको चुनावमा पुनः रानाभाटसँग हारेका उनी २०६४ को पहिलो संविधानसभा चुनावमा माओबादी नेता देवप्रसाद गुरुङसँग पराजीत भएका थिए ।
२०४८ सालमा क्षेत्र नम्बर १ बाट काँग्रेस नेता तारानाथ रानाभाट विजयी हुँदा प्रतिश्पर्धी खगराज अधिकारीले १ हजार ७ सय ३३ कम मत पाए । उनै अधिकारी २०५१ मा १ हजार २ सय ५१ मतले रानाभाटलाई पराजीत गरी प्रतिनिधीसभा सदस्य निर्वाचित भए । २०५६ को चुनावमा पासा पुनः रानाभाटको पोल्टामा पल्टियो । तिनै अधिकारी ३ हजार ८ सय ३ मतले पछि परे । महत्वपूर्ण प्रतिश्पर्धा २०६४ को पहिलो संविधानसभा चुनावमा भयो । माओवादी नेता देवप्रसाद गुरुङसँग पनि चुनाव लड्न पुगेका अधिकारी २ हजार ५ सय २३ मतले पराजीत भए । यो चुनावमा कानुनमन्त्रीय काँग्रेस नेता यज्ञ बहादुर थापाले खगराजको भन्दा ५ सय ९३ मत कम ल्याए ।
संविधानसभा चुनावका बेला एकमा हार र एकमा जीत निकालेका वर्तमान कानुनमन्त्री यज्ञ बहादुर थापाको तेश्रो चुनाव निकै रोचक मानिएको छ । उनी २०६४ मा माओबादी नेता देवप्रसाद गुरुङसँग पराजीत भएका थिए । संयोग एमाले नेता खगराज अधिकारी उतिबेला पनि थापाको प्रतिश्पर्धी थिए । अहिलेको चुनावमा थापा र अधिकारी आमनेसामने भएका छन् । दुवै संविधानसभा चुनावमा विजयी भएका एमाले नेता रवीन्द्र अधिकारी चाहीँ ह्याट्रिक गर्ने दाउमा छन् । पहिलो संविधानसभा चुनाव २०६४ मा माओवादी नेता झलकपाणी तिवारीलाई पराजीत गरेका उनले २०७० को चुनावमा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई हराए । यसपाली उनको प्रतिश्पर्धीको रुपमा काँग्रेसका बौद्धिक नेता देवराज चालिसे छन् । लामो समय प्राध्यापनमा विताएका चालिसे राजनीतिक जीवनमा अग्रपंक्तिमै रहेर पार्टीको जिम्मेवारी सम्हालेका ब्यक्ति हुन् । चालिसेको भने यो पहिलो उम्मेदवारी हो ।
काँग्रेस कास्कीको इतिहासमा सबैभन्दा लामो समय पार्टी सभापतिको भूमिकामा रहेका पूराना नेता शुक्रराज शर्मा कास्की क्षेत्र नम्बर २ बाट २०४८ र २०५१ को चुनावमा लगातार एमाले नेता तुलबहादुर गुरुङसँग पराजीत भए । उनको यो उम्मेदवारी तेश्रो पल्ट हो । उनको प्रतिश्पर्धी एमालेका नेता जगत विश्वकर्मा छन् । लामो समयदेखि नेपाली राजनीतिक आन्दोलनमा होमिएका विश्वकर्मालाई वाम गठबन्धनको साथ छ । उता शर्मा भने लगातार पराजय भोगेको आफ्नो इतिहास बदल्ने तयारीमा छन् ।
पार्टीगत हिसावले हेर्दा कास्कीको चुनाव विगतदेखि नै रोचक छ । २०४८ मा ३ निर्वाचन क्षेत्र रहेको कास्कीको २ क्षेत्र एमालेले जितेको थियो भने एउटा क्षेत्रमा मात्रै काँग्रेस बिजयी भयो । क्षेत्र नम्बर १ मा काँग्रेस तथा २ र ३ मा एमाले बिजयी भएको थियो । मध्यावधी चुनाव २०५१ मा देशैभर बहुमत पाएको एमालेले कास्कीमा २ वटा क्षेत्र जित्यो । काँग्रेसको किल्ला तोडेपनि आफ्नो किल्ला जोगाउन नसक्दा एमालेले काँग्रेसलाई पत्तासाफ पार्न सकेन । क्षेत्र नम्बर १ र २ मा एमाले बिजयी हुँदा क्षेत्र नम्बर ३ मा झिनो मतान्तरले काँग्रेस उम्मेदवार बिजयी भए । २०५६ मा चाहीँ जिल्लाका तीनै निर्वाचन क्षेत्र काँग्रेसको पोल्टामा प¥यो । सबै क्षेत्रमा एमाले उम्मेदवार नै प्रतिश्पर्धीका रुपमा थिए । पहिलो संविधानसमा चुनावमा जिल्लाका ४ क्षेत्रमध्ये ३ वटा माओबादीले जित्दा एमालेले एउटा क्षेत्र सुरक्षित गर्न सक्यो । यो चुनावमा कास्कीबाट काँग्रेस निल भयो । क्षेत्र नम्बर १, २ र ४ माओवादीले जितेको थियो भने ३ नम्बर क्षेत्र एमालेको पकडमा गयो । २०७० मा पनि यो क्षेत्र एमालेले नै सुरक्षित ग¥यो । यो चुनावमा एमाले र काँग्रेसले २÷२ क्षेत्र आफ्नो पक्षमा पार्न सके । १ र २ काँग्रेसले जित्यो भने ३ र ४मा एमाले बिजयी भयो ।
अहिले निर्वाचन क्षेत्र घटेर तीनवटा कायम भएको छ । सीमाना हेरफेर गर्दा एमाले र काँग्रेसले आफ्नो गढ मान्ने ठाउँहरु पनि यताउती भएका छन् । तसर्थ यो चुनाव अनुमान भन्दा बाहिर छ । झनै उम्मेदवार छनौटमा दलहरुको चलाखीले अनुमान लाउने दायरा फराकीलो बनाईदिएको छ । यद्यपी स्थानीय चुनावलाई पनि हामी केलाउन सक्छौं । गत बैशाखमा भएको स्थानीय चुनावले कास्कीका कुनैपनि क्षेत्र काँग्रेसका लागि सुरक्षित छैनन् । सबैक्षेत्रमा एमाले बिजयी भएको छ । स्थानीय चुनावलाई मात्रै मुल्यांकन गर्दा कास्कीमा काँग्रेस निकै कमजोर छ । यद्यपी स्थानीय चुनावमा उम्मेदवारको ब्यक्तित्वदेखि निर्वाचन परिचालनले पनि निकै ठूलो अर्थ राख्छ । यसपाली भने काँग्रेसले सुधारोन्मुख नतिजा निकाल्ने नेताहरुको दावी छ । वाम गठबन्धन पनि सबै क्षेत्रमा आफ्नो पकड जमाउने योजनामा छन् ।
बैशाख ३१ को स्थानीय चुनावमा काँग्रेसले एउटा गाउँपालिकाको मात्रै अध्यक्ष जितेको थियो भने बाँकी सबै स्थानीय तह एमालेको पोल्टामा प¥यो । वडा तहमा पनि एमाले उम्मेदवार हावी भए । हरेक निर्वाचन क्षेत्रमा काँग्रेस भन्दा अगाडी रहेको एमाले माओवादी केन्द्रको भोटले झनै मतान्तर बढाउँछ । समग्रमा कास्कीको निर्वाचन क्षेत्र नम्बर १ (ख) काँग्रेसका लागि केही सहज छ । यद्यपी यो क्षेत्रमा काँग्रेसका आधिकारीक उम्मेदवार विन्दुकुमार थापा विरुद्ध वागी उम्मेदवारी छ । तर वागी बनेका नरेशशंकर पालिखेले खासै मत नकाट्ने काँग्रेस नेताहरुको अनुमान छ । अघिल्लो चुनावमा पनि काँग्रेसलाई असहयोग गरेको पालिखेमाथी आरोप छ । काँग्रेस यो क्षेत्रमा वाम गठबन्धन भन्दा १ हजार ३ सय ६५ मत पछाडी छ । काँग्रेसको ८ हजार ९ सय ३१ मत छ भने वाम गठबन्धनले यो क्षेत्रमा १० हजार २ सय ९६ मत पाएका छन् ।
२ नम्बर क्षेत्रकै प्रदेशसभा (क) मा एमाले निकै अगाडी छ । यो क्षेत्रमा काँग्रेसले ७ हजार १ सय ४५ मत ल्याउँदा वाम गठबन्धनले १३ हजार ४ सय २९ मत ल्याए । यो क्षेत्रमा वाम र काँग्रेसको मतान्तर मात्रै ६ हजार २ सय ८४ छ । क्षेत्र नम्बर १ (क) मा काँग्रेसले १२ हजार ९ सय ५० मत ल्याएको छ भने वामले १७ हजार ४ सय ६७ मत ल्याएका छन् । १ (ख) मा काँग्रेसको १० हजार ६ सय ४ मत आउँदा वाम गठबन्धनको १५ हजार ७ सय ७८ मत छ । ३ (क) मा काँग्रेसले ११ हजार ५ सय २८ मत पाएको छ भने वाम गठबन्धनको १६ हजार ९ सय ५० मत आएको छ । ३ (ख) तर्फ ११ हजार १ सय ४८ मत काँग्रेसको भागमा पर्दा गठबन्धनलाई १४ हजार ३ सय ४१ मत गएको छ ।
अघिल्ला मतान्तरले मात्रै आगामी नतिजा निर्धारण गर्न मिल्दैन । यद्यपी कास्कीमा वाम गठबन्धन काँग्रेसभन्दा निकै बलियो छ । तर गठबन्धनभित्र इमान्दारीता कायम नहुने आँकलन पनि सर्वसाधारणको छ । काँग्रेसले उम्मेदवार छनौटमा यसअघि गर्ने गल्ती यसपाली खासै देखिएको छैन । विगतमा उम्मेदवारका आकांक्षीले नै अन्तर्घात गर्ने गरेको आरोप छ । यद्यपी अन्तर्घात नहुने भने गठबन्धन र काँग्रेसबीच जिल्लामा रोचकपूर्ण प्रतिश्पर्धा हुने निश्चित छ ।