कास्कीकोटमा ५० हजार पर्यटक लैजाने, जाऔं है कास्कीकोट अभियान चल्दै

पोखरा, जेठ ३० ।
कास्कीको ऐतिहासिक गाउँ कास्कीकोटको पर्यटन विकासका लागि जाऔं है कास्कीकोट अभियान सञ्चालन हुने भएको छ । बार्षिक ५० हजार पर्यटक भित्र्याउने गरी बुधबार पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराईएको हो । शाहवंशीय उदगम थलो कास्कीकोटमा पर्यटक भित्रयाउन पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ ले ‘जाउँ है कास्कीकोट कार्यक्रमको अभियान थाल्ने योजना सार्वजनिक गरेको छ ।

कास्कीकोटमा गुप्तकालिका मन्दिर पुनःनिर्माण, कश्यपधाम बृहत गुरुयोजना अन्तर्गतका पर्यटकीय पदमार्ग कश्यपधाममा दृश्यावलोकन टावर निर्माण, सराङकोटदेखि कास्कीकोट देउरालीसम्मको साइकल रेन्ज, देउराली देखि नागडाँडासम्म अपाङ्ग ह्वील चियर पदमार्ग पूरा गर्ने, रक क्लाइम्बिङको शुरुवात गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने योजना वडाध्यक्ष ओमप्रसाद सुवेदीले सुनाए ।

कास्कीकोट दरबार संरक्षण गर्न पुरातत्व विभागले १५ लाख बजेटमा आवश्यक ढुंगा छाप्ने काम भईरहेको उनले बताए । ‘ऐतिहासिक वडालाई पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा छौं, उनले भने–‘माछाको लागि प्रसिद्ध ठाउँ पामे र कास्कीकोट धार्मिक तथा पर्यटन लक्षित महोत्सव सञ्चालन गरी प्रवद्र्धन गरिने छ ।’

कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्दै किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको ढुवानीको व्यवस्था वडाले नै व्यवस्थापन गरिने समेत उनको भनाई थियो । कास्कीकोटमा १५४ प्रकारका जडिबुटी खेती गर्नेलाई सहुलियत र अनुदानको व्यवस्था वडाले गर्ने जनाइएको छ । जडिबुटी संकलन केन्द्र कृषि उत्पादन संकलन केन्द्र स्थापनासमेत गर्ने भएको छ । १० जनाभन्दा बढी व्यक्तिहरुलाई रोजगारी दिने कृषि फर्म, उद्योगलाई विशेष सहुलियत र अनुदानको व्यवस्था गरी नमूना फर्म, कृषक र उद्योगलाई सम्मान गर्ने योजना वडाले अघि सारेको छ ।

युवाहरुलाई कृषिमा आर्कषित गर्न बाँझो जमिनहरुमा युवा उद्यमी कार्यक्रम संचालन माटोको परीक्षण गरी कृषिको पकेट क्षेत्र निर्धारण गर्ने एक घर एक टनेल÷एक घर एक मौरीघारको कार्यक्रम शुरुवात यसै वर्ष गरिने वडा सदस्य सोमनाथ भटराईले बताए । व्यवसायिक कृर्षकको पहिचान गरी अनुदान र सम्मानको व्यवस्था गरिने छ ।

१० घारभन्दा बढी मौरीपालक, ५०० वोट भन्दा बढी कफी लगाउने किसान, १०० बोटसम्म कागती फलाउने किसान, ५ रोपनीभन्दा बढी जमिनमा फुल खेती गर्ने कृषक, २० वटा भन्दा बढी गाई भैंसी पालक किसान, एकहजार भन्दा बढी कुखुरा पालक किसानका निम्ति ढुवानीमा वडाले सहयोग गर्ने उल्लेख गरेको छ ।

काँक्रा, सागसब्जी, अकबरी खुर्सानी, स्कुसको उत्पादनमा व्यवसायिक उत्पादनमा प्रोत्साहन गर्न हाते ट्याक्टरमा अनुदान सहयोगको व्यवस्था गर्ने, कृषि उत्पादनको निम्ति तालिम, अध्ययन भ्रमण, नयाँ नयाँ प्रविधिको उपयोग र जेटिए लगायतका प्राविधिकको सेवाको लागि पर्याप्त व्यवस्था गर्न पहल गर्ने बाली संरक्षणका कार्यक्रमहरु संचालन गरी प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग समन्वय गरी विभिन्न क्षेत्र, पकेटको आधारमा फेवाको जेठोबुढो धानको संरक्षणमा जोड दिइएको छ । आर्थिक वर्षमा दश करोड ८६ लाख रकमको ९२ योजना संचालन भएको वडा अध्यक्ष सुवेदीले वताए ।

साविक कास्कीकोट गा.वि.स. एकैचोटी महानगरको एक वडा भएको हुँदा न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिदेखि पूर्वाधार र निर्माणमा महानगरले विशेष आरक्षणको व्यवस्था गर्नुपर्नेमा वडाध्यक्ष सुवेदीको माग थियो लुप्तखेल, घुयत्रो, डण्डीवियो, सैनिक अभ्यास लगायतका खेलहरुको प्रतियोगिता संचालन गर्ने, बास्कोट, गैह्राबारी, मौला लगायतका ठाउँहरुमा खेल मैदानहरुको आवश्यक पूर्वाधार निर्माण गर्ने, कालिका माविमा प्राविधिक शिक्षालय बहुमुखी क्याम्पस स्थापनाका कार्यक्रम समेत वार्षिक कार्ययोजनामा समेटिएको छ ।