कास्कीका रवीन्द्र अधिकारी मन्त्री बन्दै, मन्त्रीपरिषद् विस्तारको तयारी

पोखरा, चैत २ ।
कास्कीका सांसद रवीन्द्र अधिकारी मन्त्री बन्ने पक्काजस्तै भएको छ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । उनको मन्त्रीमण्डलमा अधिकारीलाई मन्त्री बनाउने तयारी बुझिएको छ । यसअघि माओवादी केन्द्र सहभागी सरकारमा मधेसवादी दल संघीय समाजवादी फोरम र राजपालाई समेत समेटेर सरकार विस्तारको तयारीमा ओली लागेका हुन् । एमालेबाट अधिकारीसँगै प्रदीप ज्ञवाली, रघुवीर महासेठ, योगेश भट्टराई, लीला श्रेष्ठ, गोकुल बाँस्कोटा, भानुभक्त ढकालको नाम चर्चामा छ । कृष्णगोपाल श्रेष्ठ, नारदमुनि रानाको नाममा पनि पार्टीभित्र छलफल भएको छ । अधिकारीलाई पर्यटन मन्त्री दिने सम्भावना छ । 
सरकार विस्तार र मन्त्रालय थपबारे प्रधानमन्त्री ओलीले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए । स्रोतका अनुसार आजै दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण हुनेछ । यस्तै माओवादी केन्द्रबाट बिना मगर, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेलको सम्भावना छ । संघीय समाजवादी फोरमबाट आजै सरकारमा सहभागी हुने तयार भए पनि नाम टुंगो लाग्न सकेको छैन । फागुन ३ गते नियुक्त प्रधानमन्त्री ओलीको सरकारमा हालसम्म ७ मन्त्री मात्र सहभागी छन् । मधेस केन्द्रित दललाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रालय समेत थपिएको छ ।