कास्कीका निर्माण ब्यवसायी भन्छन्–सरकारले उपभोक्ता समितिको नाममा बिचौलिया छिरायो

पोखरा, पुस २८ ।
कास्कीका निर्माण ब्यवसायीहरुले विकास निर्माणका काममा उपभोक्ता समितिलाई देखाएर विचौलिया प्रवेश गराएको आरोप लगाएका छन् । शनिबार पत्रकार सम्मेलन गरि उनीहरुले बिचौलियाप्रथाका कारण विकास निर्माणमा गुणस्तरहिन काम भैरहेको गुनासो गरे । ‘पोखरा महानगरबाहेक कुनैपनि स्थानीय तहले भौतिक पूर्वाधार विकासको काममा बोलपत्र र दरभाउपत्र प्रकाशन गरेका छैनन् । स्थानीय सरकार मात्रै होईन केही सरकारी कार्यालयले समेत अपारदर्शी ढंगले ठूला र संवेदनशिल स्ट्रक्चर निर्माणका लागि उपभोक्ता समितिको नाममा बिचौलिया परिचालन गरिरहेका छन्, उनीहरुले भने–यसले विकास निर्माणको गुणस्तर नहुने र कमिसनतन्त्र पनि बढेको छ । जसका कारण राज्यको नोक्सानीसँगै जनप्रतिनिधिकै भूमिकामाथी पनि प्रश्नचिन्ह खडा भैरहेको छ ।’

उनीहरुले जिल्लाभित्रै जिल्लाको दररेटका आधारमा नदीजन्य सामग्री उत्खनन् गर्न पाउनुपर्ने माग पनि राखेका छन् । नयाँ संरचनाका कारण निर्माण ब्यवसायीले इजाजतपत्र नवीकरणमा समेत समस्या भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे । ‘पूरानो संरचनामा जिल्ला विकास समितिबाट इजाजतपत्र वितरण र नवीकरण हुँदै आएको थियो । नयाँ संरचनामा यो ब्यवस्था स्थानीय तहमा पुगेको छ, नेपाल निर्माण ब्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले भने–स्थानीय तहमा फरक फरक र झण्झटिलो मापदण्ड राखिएकोले नवीकरण गर्न गाह्रो भैरहेको छ । समयमै यसको संशोधन नगरिए ‘घ’ बर्गका सबै ब्यवसायीको इजाजतपत्र नवीकरण नभई स्वतः खारेज हुने अवस्था आएको छ ।’

नयाँ संरचनापछि यसअघि सञ्चालन हुँदै आएको बहुबर्षिय क्रमागत आयोजनाहरु विलिन गरिएको उनले बताए । ‘क्रमागत आयोजनाहरु रातो कितावबाटै हराए । केही समेटिएका आयोजना पनि कसले कार्यान्वयन गर्ने स्पष्ट छैन, उनी भन्छन्–अघिल्लो बर्षहरुमा काम सकिएका आयोजनाको रकम पनि ब्यवसायी पाएका छैनन् । हामी निकै मारमा छौं ।’ श्रेष्ठका अनुसार यसअघि काम सकिएका आयोजनामा डिभिजन सडक कार्यालयबाट ३० करोड र साविक जिल्ला प्राविधिक कार्यालयबाट ९ करोड रुपैयाँ निर्माण ब्यवसायीलाई भुक्तानी हुन बाँकी छ । समयमै आफ्ना माग सम्बोधन नभए महासंघ मार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले चेतावनी दिए ।

यसैबीच, संघले आइतबार ३२ औं स्थापना दिवस मनाउन लागेको छ । संस्था स्थापना भएको ३२ बर्ष पूरा भएको अवसरमा विहान साढे ८ बजे खुला रक्तदान कार्यक्रम राखिएको संघका सचिव सुवर्ण श्रेष्ठले जानकारी दिए । स्थापना दिवसकै रुपमा शुक्रबार पोखरा बृद्धाश्रमका बृद्धबृद्धालाई एकछाक खाना खुवाएका थिए । जिल्लाभर ४ सय १३ जना ब्यवसायी संघभित्र आवद्ध छन् भने केही ब्यवसायी संघमा आवद्ध नभई काम गरिरहेका छन् ।