कास्कीका उम्मेदवारलाई नागरिकका प्रश्नैप्रश्न !

प्रकाश ढकाल
पोखरा, मंसिर ९ ।
‘हामी विद्यार्थीहरुले मन्थ्ली फि र एक्जाम फिमा पनि कर तिर्नुपरेको छ । हामीले ब्यापार गरेका छैनौं, पढ्दा पनि कर तिर्नुपर्ने ?’ पोखराको ज्योति कुञ्ज बोर्डिङ स्कुलमा पढ्ने १२÷१३ बर्षकी आश्चर्य शर्माले नेताहरुलाई प्रश्न गरिन्–पढाई पूरा गरेर पछि हामीले जागिर पाउछौं कि पाउँदैनौं ? ज्ञारेण्टी के छ ?’ आउँदो चुनावमा कास्कीबाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दिएका कुनैपनि नेताले प्रश्नको जवाफ दिएनन् । पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पूरानै योजना सुनाए ‘शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ । पढेपछि जागिरको सुनिश्चितता हुन्छ ।’ यो सबै नेताहरुले विगतदेखि नै सुनाउँदै आएका जवाफ हुन् । सगरमाथा टेलिभिजनले पोखरामा चलाएको खुला बहसमा उम्मेदवारहरुलाई सहभागी नागरिकको प्रश्नैप्रश्न ओईरियो । अधिकांश कार्यकर्ताको उपस्थिती रहेको कार्यक्रममा पार्टीका कार्यकर्ताले फरक विचार राख्ने नेताहरुलाई ¥याख¥याख्ती पारे । केही सर्वसाधारण नागरिक पनि थिए, जसले साझा एजेण्डाबारे नेताहरुलाई सचेत गरे ।
विकास समितिका सभापति रवीन्द्र अधिकारीले विकासका कार्यक्रम ल्याउन नसकेको देखि कानुनमन्त्रीले आचारसंहिता उल्लंघन गरेका गुनासा समेत कार्यक्रममा आए । प्रमिला आचार्यले अधिकारीलाई विकास समितिमा बस्दा कास्कीको ताल संरक्षणमा कति बजेट छुट्याउनुभयो भनेर प्रश्न गरिन् । त्यसको जवाफ अधिकारीले दिएनन् । एमाले भातृ संगठनमा कार्यरत शान्त कुमारी गुरुङले फेवातालको संरक्षणबारे नेताहरुको मौनतालाई उठाईन् । ‘फेवाको छेउमा मेरो घर छ । ताल रोईरहेको छ, हामी टुलुटुलु हेरिरहेका छौं, उनले भनिन्–फेवाताल खेत रोप्न मिल्ने भैसक्यो । नेताहरु यसकै संरक्षण गर्छु भनेर चुनाव जित्नुहुन्छ, संरक्षण कहिले हुन्छ ?’ यसबारे सबैको उस्तै जवाफ थियो प्राकृतिक सम्पदाको संरक्षण गरेर पर्यटन विकास गर्ने हाम्रो योजना छ । सबैले सतही जवाफ दिएर उम्किए ।
त्यसपछि अर्का सहभागी विश्वदर्शन पराजुलीले कानुनमन्त्री थापालाई निर्वाचन आचारसंहिता किन पालना नगर्नुभएको भन्ने प्रश्न सोधे । थापाले आलटाल गरेर सामान्य जवाफ फर्काए । आचारसंहिता मान्ने विषयमा पनि उनले प्रतिबद्धता जनाउन भ्याएनन् । उनले प्रयोग गरेको निर्वाचन प्रचार सामाग्री निर्वाचन आयोगको मापदण्ड विपरित थियो ।
सहभागीहरुले यसअघि सांसद भैसकेका नेताहरुलाई बढी प्रश्न गरे । यद्यपी नयाँ अनुहारहरुलाई विकास खाका प्रष्ट्याउन आग्रह गरेका पनि थिए । दलित महिला संघ कास्कीकी अध्यक्ष चमेली परियारले संविधानले संस्थागत गरेको महिला प्रतिनिधित्वलाई पनि दलहरुले वेवास्ता गरेकोप्रति गुनासो तेस्र्याईन् । ‘३३ प्रतिशत महिला सहभागीता संविधानमा उल्लेख छ । कास्कीमा जिम्मेवार दलहरुको महिला उम्मेदवार खै ?, उनले भनिन्–महिलाको सवालमा यहाँहरुको कार्ययोजना के छ ?’ सबै नेताहरुले समाबेशी प्रतिनिधित्व संविधानमा अध्यावधिक भैसकेकोले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता मात्रै जनाए ।
केही सहभागीले एनसेलको ‘फोर जी’ सेवा स्विकृतिबारे प्रष्ट्याउन आग्रह गरे । भर्खरै निवर्तमान भएका विकास समिति सभापति रवीन्द्र अधिकारीले राज्यका करलाई यताउती नगर्ने प्रतिबद्धता जनाए । यद्यपी एनसेलले कर नतिर्दै उनकै समितिले ‘फोर जी’ सेवा सञ्चालन अनुमति दिएको थियो । अधिकारीले जनताको सुविधालाई नरोक्न कर नतिरेपनि सेवा सञ्चालनको स्विकृति दिएको स्पष्टोक्ति दिए । ‘विकास समितिमा हुँदा एनसेलले लाभकर तिर्नुपर्छ भनेर कुरा उठाउने हामी हौं । २६ अर्व कर सरकारको राजश्व खातामा आईसकेको छ, उनले भने–बाँकी कर अघिल्ला विक्रेताले तिर्नुपर्छ । नतिरे एनसेलले आफुँखुशी शेयर किनबेच गर्न पाउँदैन र आफ्नो नाफा रकम पनि चलाउन पाउँदैन ।’ तर पूरानै कम्पनीले कर तिर्नुपर्ने निर्णय विकास समितिले गरेका कारण कर असुली हुनेमा सरकार आँफै ढुक्क छैन । यो बिषयमा पुर्व मन्त्री तथा सांसद कुमार खड्काले पनि सार्वजनिक रुपमै विकास समितिले गलत बाटोबाट स्विकृति दिएको दावी गरेका थिए ।
कार्यक्रममा पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई पनि प्रश्न आयो । खासगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने श्रेय खोजेका अधिकारीलाई सहभागी सुवास मल्लले जिल्लाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य कामबारे बुँदागत रुपमा सोधे । ‘कास्कीको स्वास्थ्य क्षेत्रमा के काम गर्नुभयो ?, उनले भने–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान त बनाउनु भयो त्यसले के काम गरिरहेको छ ? भत्ता खानका लागि मात्रै प्रतिष्ठान बनाउनुभएको कि काम गर्नका लागि ? यसबारे उनले जवाफ नै दिएनन् ।
पहिलो पटक संसदीय चुनावमा उम्मेदवारी दिएका कास्की क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार देवराज चालिसेलाई विकास खाका नभएको गुनासो गरे । चालिसेले नेपालमा पार्टी पिच्छे विकास नीति फरक भएकाले साझा एजेण्डा बनाउनु आफ्नो पहिलो शर्त रहेको बताए । ‘संसारमा सबै पार्टीका ८० प्रतिशत एजेण्डा समान हुन्छन् । नेपालमा कुनैपनि पार्टीको राष्ट्रिय नीतिसँग अर्को पार्टीको नीति मेल खाँदैन, उनले भने–चुनावमा हारजीत गौण बिषय हो । जसले जितेपनि मुलुकको कार्यदिशा एउटै हुनुपर्छ, म त्यसका लागि लविङ गर्छु ।’ उनले एकीकृत विकास योजना तयार गरेर कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाए ।
उम्मेदवारहरुले नागरिकका प्रश्नको जवाफसँगै आफ्ना विकासका एजेण्डा पनि राखे । कास्की क्षेत्र नम्बर ३ का काँग्रेस उम्मेदवार शुक्रराज शर्माले पोखरादेखि लुम्बिनी, काठमाण्डौं र मुक्तिनाथको त्रिकोणिय फाष्ट ट्रयाकलाई अगाडी सारे । पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार तयार गरेर बढी भन्दा बढी पर्यटक पोखरा भित्र्याउने उनको लक्ष्य छ । उनका प्रतिश्पर्धी वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्माले प्राकृतिक श्रोतको उच्चतम उपयोग गर्नेलाई प्रमुखताका साथ उठाए । आफ्नो क्षेत्रमा श्रोतको अपार सम्भावना भएको भन्दै त्यसको प्रयोगमा आफ्नो जोड रहने उनको प्रतिबद्धता छ । यसबाहेक कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दिएका संघीय समाजवादी फोरमका उम्मेदवार मन बहादुर गुरुङ र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार सौगात पोखरेलले पूराना पार्टीबाट परिवर्तन सम्भव नभएको भन्दै विकल्पको खोजी जनताको आवश्यक्ता भएको बताए । सहभागीहरुले विगतमा पार्टीका उम्मेदवारले गरेका घोषणा कार्यान्वयनबारे बढी चासो राखेका थिए ।