कालोपत्रे गरेर हस्तान्तरण नगर्दै भत्कियो कास्कीमा पक्की सडक

पोखरा, बैशाख ८ ।
कास्कीको रुपाकोट–थुम्की सडक निर्माण सकिएर हस्तान्तरण नहुँदै भत्किएको छ । खोला छेउबाट सुरु हुने सडकको ठाउँठाउँमा भत्किएर माटो देखिएको छ । थुम्कीसम्मको सडक १३ किलोमिटर छ । सडक भत्किएपछि स्थानीयले गाउँपालिकामा खवर गरेका छन् ।

अलकत्रा बढी परेर टायरलाई समातेपछि सडक भत्किएको हुन सक्ने गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । ‘प्राविधिक कुरा हो । हामीलाई खासै थाहा हुँदैन, उनले भने–तर बढी अलकत्रा परेका कारण भत्किएको अनुमान छ । हामी हेर्न जाँदै छौं ।’

बर्षौं अघि फेल खाईसकेको ओटासिल प्रणालीको पीच एसएनआरटिपी मार्फत कास्कीमा पुनः सुरु भएको थियो । यो सडक पनि सोही परियोजना मार्फत ओटासिल गरिएको हो । विनियोजित १६ करोड मध्ये ठेकेदारले १३ करोड रुपैयाँमा सडक पीच गर्ने ठेक्का पाएको थियो ।

ठेकेदारको लापरबाहीकै कारण सडक भत्किएको स्थानीयको आरोप छ । ‘बनेको महिनादिन पनि भएको छैन । यति छिटो कसरी भत्किन्छ ?, उनीहरुले भने–यो सरासर ठेकेदारको लापरबाही हो ।’ सडकको काम पूरा नभएकोले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको कास्कीका जिल्ला इन्जिनियर नारायण बरालले बताए ।

‘काम भैरहेको छ । फाईनल पेमेण्ट पनि बाँकी छ, उनी भन्छन्–विटुमिन बढी भएपछि व्लिडिङ हुन्छ । त्यो ठाउँमा बालुवा छर्किनुपर्छ । समस्या समाधान हुन्छ ।’ भत्किएको ठाउँमा ट्रिटमेण्ट गर्न मिल्ने बरालले बताए । खोलाको छेउबाट सुरु भएको सडक थुम्कीमा पुगेर टुंगिन्छ । यस बिषयमा बुझ्न ठेकेदारलाई फोन गर्दा उनले उठाएनन् ।